बिर्तामोड , पुष १० । लाखौंको जग्गा लिएर मन्दिर नबनाएकोमा दाता परिवारले गुनासो गरेका छन् ।

मन्दिरलाई दिएको जग्गा

बिर्तामोड नगरपालिका ९ बद्रीबारी टोलका रमेश खरेलले शिवालय मन्दिर तथा सत्संग भवन बनाउन मनोकामना भजन किर्तन मण्डलीलाई एक कठ्ठा जग्गा दान दिएका थिए । त्यस्तै बिर्तामोड १० का रमेश पाठकले पनि मण्डलीलाई एक कठ्ठा जग्गा दिएका थिए । पाठकको जग्गामा मन्दिर र खरेलको जग्गामा सत्संग भवन बनाउने योजना देखाएर मण्डलीले जग्गा दिन लगाएको थियो । दुवैले पास गरेर जग्गा दिएका छन् । तर, जग्गा दिएको र शिलान्यास भएको एक वर्ष पुग्दासमेत मन्दिर नबनेपछि दाता परिवारले गुनासो गरेका हुन् । गत वर्ष बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रबकुमार शिवाकोटीले मन्दिर र सत्संग भवनको शिलान्यास गरेका थिए ।‘मन्दिर र सत्संग भवनको लागि जग्गा दिएका हौं’ दाता खरेलले भने,‘ भनेको गर्नुपर्यो , नभए जग्गा फिर्ता गर्नु पर्यो ।’ उनले पास गरेर दिएपछि भोगचलन नगरी सो जग्गा यतिकै छोडेका छन् । खरेलको जग्गामा सत्संग भवन र पाठकको जग्गामा मन्दिर गरी ६० लाख रुपैयाँको योजना मण्डलीले बनाएको थियो । तर , मण्डलीसँग अहिले बजेट छैन । बजेट नभएर मन्दिर र सत्संग भवन निर्माण गर्न नसकिएको मनोकामना भजन किर्तन मण्डलीका अध्यक्ष युवराज पराजुलीले बताए । उनले खरेलले एक कठ्ठा जग्गा निशुल्क र पाठकले १५ धुर निशुल्क र ५ धुर पैसामा दिएको बताए । ‘कोरोना संक्रमण र लकडाउनका कारण बजेट संकलन गर्न सकेनौं’ उनले भने,‘ त्यही भएर निर्माणमा ढिलाइ भएको हो ।’ बद्रीबारी टोल विकास संस्थाका अध्यक्षसमेत रहेका पराजुलीले दाता परिवारलाई भेटेर सान्त्वना समेत दिन नसकिएको स्वीकार गरे । ‘दाता परिवारको दुखेसो सुनेर मनाउने प्रयास गर्छौं’ उनले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्