बिर्तामोड पुस १० । प्रचण्ड–नेपाल समूहले प्रदेश–१ मा पनि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव ल्याएको प्रचण्ड–नेपाल समूहलेमुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी भएको प्रचण्ड–नेपाल समूहका एक प्रदेश सांसदले बताए ।


‘हामीले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छौँ । त्यो बेलासम्म प्रदेश सभा रहन्छ की रहँदैन भन्ने मात्रै हो। किनकी बागमतीको घटनाले आत्तिएर प्रधानमन्त्रीले प्रदेश सरकार र प्रदेश सभा भंग गर्ने खतराछ,’ ती सांसदले भने, ‘हाम्रा साथीहरू अहिले बाहिर–बाहिर हुनुहुन्छ । साथीहरू भेला हुनसाथ अविश्वासको प्रस्ताव गइहाल्छ ।’


प्रदेश सभाकै बहुमत आफूहरूसँग रहेको प्रचण्ड–नेपाल समूहका एक केन्द्रीय सदस्यले दाबी गरे । प्रदेश सभाका ९३ सांसदमध्ये नेकपाका ६८ सांसद छन् । जसमध्ये पूर्वएमालेका ५२ र पूर्वमाओवादीका १६ जना छन् । २०७४ मा प्रदेश सभामा नेकपा एमाले संसदीय दलको निर्वाचन हुँदा अहिलेका मुख्यमन्त्री शेरधन राई विजयी भएका थिए ।


उनले एमालेका तत्कालीन सचिव भीम आचार्यलाई २ मतले हराएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका राईले २६ मत पाउँदा माधव नेपालनिकटका आचार्यले २४ मत पाएका थिए । एकमत बदर भएको थियो । बदर भएको मत आफूहरूकै रहेको प्रचण्ड–नेपाल पक्षको दाबी छ । ‘अहिले हाम्रो पक्षमा पूर्व एमालेका २८ जना सांसद खुल्नुभएको छ । ४ जना कतै खुल्नुभएको छैन । उहाँहरू पनि यतै आउनुहुन्छ,’ प्रचण्ड–नेपाल पक्षधर ती नेताले भने,’ पूर्वमाओवादीको १६ समेत जोडेपछि हाम्रो नेतृत्वमा सरकार बन्न सक्छ । हामी त्यसकै तयारीमा छौँ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्