झापा , पुष १० । विश्वभरका क्रिश्चियन धर्मावलम्बीले आफ्नो महान पर्व क्रिसमस आज धुमधामका साथ मनाएका छन् ।

येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर हरेक वर्ष डिसेम्बर २५ तारिखका दिन क्रिसमस मनाउने गरिन्छ । क्रिसमसमा उपहार आदानप्रदान, सामाजिक तथा पारिवारिक जमघट साथै चर्चमा भेला भएर सामूहिक प्रार्थना गर्ने गरिन्छ। जिसस क्राइस्ट पनि भनिने येशुको जन्म करिब २ हजार वर्षअघि अविवाहित (कन्या) मारियमको कोखबाट भएको थियो। उनी आफ्ना अनुयायी र समस्त मानव जातिको मुक्तिका लागि क्रुसमा चढेको बिश्वास गरिन्छ ।

नेपालमा पनि क्रिश्चियनहरुले क्रिसमस मनाउँदै आएका छन्। गणतन्त्र स्थापना र मुलुक धर्मनिरपेक्ष घोषित भएपछि यसलाई औपचारिकरुपमै विभिन्न कार्यक्रम गरेर मनाउने क्रम बढेको छ ।यसक्रममा बिर्तामोड ४ मा रहेको विलिभर्स चर्चमा पनि आफ्ना अनुयायीहरुबीच क्रिसमस मनाइएको छ ।

चर्चमा डा. फादर चित्रकुमार रुपाचा राईले जिसस क्राइस्टको महिमाका बारेमा प्रवचन दिएका थिए । महोत्सवका रुपमा केक काटेर एकापसमा शुभकामना आदानप्रदान गरी क्रिसमस मनाइएको चर्चका वीरु दर्नालले बताए । उनले सांस्कृतिक कार्यक्रम पनि गरिएको जानकारी दिए । बिर्तामोड क्षेत्रमा सानाठूला गरी २४ वटा चर्च रहेका छन् । नगरमा १० हजारको सँख्यामा इसाइ अनुयायीहरु रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्