विराटनगर, पुष १० । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को भोलि शनिबार हुने भनिएको साधारणसभा तथा निर्वाचन स्थगित भएको छ ।

उच्च अदालत विराटनगरले निषेधाज्ञायुक्त परमादेश जारी गरेपछि निर्वाचन स्थगित भएको हो । साधारणसभाबाट कार्यकारिणी समितिमा अध्यक्षसहित १३ जना चयन गर्ने कार्यक्रम थियो । तर अदालतको आदेशानुसार निर्वाचन स्थगित भएको हो । महासंघको सदस्यता सम्बन्धी विवाद नमिल्दा गर्ग प्रिन्टर्सले उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो ।
अदालतले शुक्रबार निवेदकको पक्षमा अन्तरिम आदेश जारी गर्दै पौष १४ गतेको तारेख तोकी विपक्षीलाई छलफलका लागि बोलाएको छ । ‘प्रस्तुत निवेदनमा अन्तरिम आदेशको समेत माग गरेको देखिदा दुवै पक्षको छलफलबाट सो सम्बन्धमा निर्णय हुने उपयुक्त हुने भएकाले अन्तरिम आदेशको छलफलका लागि निवेदकलाई मिति २०७७–०९–१४ को तारेख तोकी सो को सूचना विपक्षीहरुलाई समेत दिई उक्त अवधिसम्मका लागि प्रकाशित सूचना अनुसारको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को निर्वाचन नगर्नु नगराउनु भनी विपक्षीहरुका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ,’ उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले दिएको निषेधाज्ञायुक्त परमादेशमा भनिएको छ ।
उक्त मुद्धामा निवेदकको तर्फबाट अधिवक्ताहरु शान्तिराम भण्डारी, सिताराम राई, रामप्रसाद भण्डारी, पुनमप्रसाद गुप्ता र विनोदकुमार तिमिल्सेनाले बहस गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्