बिर्तामोड, पुस ११ । पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्गमा पर्ने बिर्तामोड नगरपालिका पूर्वी नेपालको मुख्य व्यापारिक केन्द्र हो । बिर्तामोडलाई झापाको मुटुपनि भनिन्छ । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङका नागरिकको रोजाइमा पर्ने बिर्तामोड पछिल्लो समय तिब्र गतिमा शहरीकरण तर्फ उन्मुख हुँदै गइरहेको नगर हो । व्यापारिक केन्द्र भएपनि यहाँका अधिकांश मानिस कृषिमा निर्भर छन् । तीन वर्ष अघि जनप्रतिनिधि निर्वाचित भएर आएसँगै बिर्तामोडलाई विषादी रहित नगर निर्माण गर्ने प्रतिवद्धता गरेका थिए । जनप्रतिनिधिको योजना स्वरुप बिर्तामोड नगरपालिका विषादी रहित नगर निर्माणमा लागि परेको सुनाउँछन् बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटी ।


बिर्तामोड नगरपालिकाले ‘कृषकको समृद्धिः व्यवसायिकरण र आधुनिक प्रविधि’ भन्ने नाराका साथ कृषि क्षेत्रको विकासमा लागि परेको छ । नगरपालिकाले सञ्चालनमा ल्याएको साना सिंचाई कार्यक्रम मार्फत् हालसम्म १ हजार ४ सय १६ विगाह जमिन सिंचित भएको छ । ७८ जना कृषकलाई अनुदान उपलब्ध गराएर व्यवसायिक तरकारी उत्पादनको शुरु गरिएको छ । यस अन्तरगत २६ विघामा कृषकहरुले तरकारी खेती गर्र्दै आइरहेका छन् । नगरले व्यवसायिक आलु उत्पादन कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । जसबाट ८६ विघामा आलु खेती हुँदै आइरहेको छ । नगरले ३ सय ८ विघामा व्यवसायकि तोरी उत्पादन, ४२ विघामा व्यवसायीक फापर उत्पादनमा कृषकलाई अनुदान उपलब्ध गराएको छ । समय–समयमा धान तथा मकै बालीमा हुने प्रकोप न्यूनिकरणका लागि नगरले आकश्मिक बाली उपचार कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसबाट हालसम्म ३ हजार ३ सय ३१ जना कृषक लालम्भित भएका छन् । ३२ वटा समूहलाई पावर टिलर र धान काट्ने मेसिन अनुदानमा उपलब्ध गराएका छौँ । त्यस्तै ८७ वटा समूहलाई मकै छोडाउने मेसिन उपलब्ध गराएका छौँ ।


जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व गरेसँगै छोटो समयमा धेरै विकास गर्न सफल भएको नगरप्रमुख शिवाकोटीको भनाई छ । “हालसम्म ६० किलोमिटर सडक कालोपत्रे र पेवर्स भइसकेको छ” शिवाकोटी भन्छन्, “हाम्रो कार्यकालमा ५० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेका थियौँ ।” आफ्नो कार्यकालमा लक्ष्य भन्दा दोब्बर सडक कालोपत्रे गर्ने नगरप्रमुख बताउँछन् । बिर्तामोड नगरपालिकामा ८४ वटा कल्भर्ट निर्माण गरिएको नगरप्रमुख शिवाकोटी बताउँछन् । नगरपालिकाले आर्थिक वर्ष २०७५÷२०७६मा ७६ जना विपन्न नागरिकलाई आवास हस्तान्तरण गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७६÷२०७७मा १ सय ९० घर निर्माण गरी हस्तान्तरण गरिएको नगरप्रमुख शिवाकोटीले बताए । त्यसमध्ये बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा १ सय, तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत २५, विभिन्न वडाको वडागत बजेटबाट ८ र बिर्तामोड नगरपालिकाले १७ वटा घर निर्माण गरी नगरका विपन्न नागरिकलाई हस्तान्तरण गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७७÷०७८मा नगरका १० वटै वडामा २०÷२० वटा आवास निर्माण प्रक्रिया शुरु भइसकेको नगरपालिकाका सूचना अधिकारी जय तिमिल्सिनाको भनाई छ । नगरले सबै वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गरी सरकारले उपलब्ध गराएका अषैधी साथै सुगर प्रेसरको निःशुल्क चाँचको व्यवस्था मिलाएर सेवाप्रवाह गर्दै आइरहेको छ । नगर भित्रका अतिविपन्न १ हजार जना नागरिकको स्वास्थ्य विमा गरिदिएको नगरप्रमुखले जानकारी दिए ।


हामीले ‘उपभोक्तको हित संरक्षण, स्वास्थ्य पशुजन्य उत्पादन र वितरण’ भन्ने नाराका साथ बिर्तामोड नगरपालिका भित्रका साना तथा व्यवसायीलाई लक्षित गरी पशुपंक्षी विकासको क्षेत्रमा काम गर्दै आइरहेका छौँ । आर्थिक वर्ष २०७५÷०७६ र आर्थिक वर्ष ०७६÷०७७मा पशुपंक्षी तथा मत्स्य विकास शाखाबाट ६ सय ७९ जना कृषक लालम्भित भएका छन् । जस अन्तरगत मेयर पकेट बाख्रा साटासाट, बंगुर वितरण, गाई, बंगुर, बाख्राको भकारो सुधार कार्यक्रम, च्याकटर वितरण कार्यक्रम सञ्चालन गरेका छौँ । यस कार्यक्रमलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिने छौँ । नगरले ‘भान्सा घर नै औषाधलय हो’ भन्ने विषयलाई ध्यानमा दिदैँ १ सय ८० जना कृषकलाई प्रशिक्षण दिइ अर्गानीक तरकारी उत्पादन सम्बन्धि तालिम दिएको छ । बिर्तामोड नगरपालिकाको नगर कार्यपालिकाको बैठकले नगरभित्र विषादी प्रयोग गरेका माछा बिक्री बन्द गरेको छ । साथै नगरपालिकामा अर्गानिक माछा उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गर्दै आएको छ । नगरले आव २०७६÷२०७७मा मासु पसल सुधार कार्यक्रम अन्तरगत २० वटा मासु पसल सुधार गरेको छ । नगरपालिकाले १ सय ६५ परिवारमा गोबर ग्याँस प्लान्ट जडान गरेको छ । चालू आर्थिक वर्षमा ६१ वटा प्लान्ट जडानको सम्झौता भएको छ ।


समाजलाई स्वस्थ्य र आचरणयुक्त बनाउन गत शैक्षिक शत्रदेखि नगरपालिकाले कक्षा ३ र ४ मा शुरु गरेको आचरण तथा सचेतना शिक्षा यस शैक्षिक शत्रदेखि कक्षा ५ र ६ मा लागु गरेको छ । आगामी वर्ष कक्षा ७ र ८ मा लागू गरिने नगरप्रमुख शिवाकोटीको भनाई छ । किताबमा घर परिवारमा गर्ने व्यवहार, सार्वजनिक क्षेत्रमा हुने र गर्नुपर्ने कामलाई आफ्नै परिकल्पना स्वरुप किताबमा समावेश गरिएको नगरप्रमुखको भनाई छ । नगरले शहिद लक्ष्मी आधारभुत विद्यालयलाई नमुना विद्यालय बनाएको छ । नगरभित्रका १८ वटा सामुदायिक विद्यालयलाई बालमैत्री बनाइएको साथै स्वच्छ खानेपानीको व्यवस्था गरिएको छ ।
प्रस्तुति ः मनिषा चम्लागाईँ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्