झापा ,पुष ११ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेका छन् ।

‘नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदमुक्त गर्नुभएको छ,’ मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुब सुवेदीले बताए ।
आङ्बो पूर्वमाओवादी नेता पनि हुन् । उनी अहिले प्रचण्ड–नेपाल समूहमा छन् । मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको बताइएको छ । ‘एक दिन पर्खिएको भए आफैं राजिनामा दिने तयारीमा थिएँ,’ मन्त्री पदबाट पदमुक्त गरेको विषयमा प्रतिक्रिया दिँदै आङ्बोले भने, ‘जे भयो ठिकै भयो, अब प्रस्तावक समर्थक बन्न पाउने भएँ ।’ मुख्यमन्त्री राईविरुद्ध आइतबार नै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिएको उनले बताए ।