बिर्तामोड पुस, ११ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ । अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् । समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । प्रस्तावमा ३६ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड–माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको एक नेताले बताए ।


अविश्वासको प्रस्तावमा अबको मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ । ९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन् । प्रदेशसभामा नेपाली काँग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ सदस्य छन् ।

तीन मन्त्रीद्वारा सामुहिक राजीनामा

प्रदेश १ का तीन मन्त्रीले आइतबार बिहान सामुहिक राजिनामा दिएका छन्। सामाजिक विकास मन्त्री जिवन घिमिरेसहित सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वासले सामुहिक राजिनामा दिएका हुन्।

नेपाल कम्युनिष्ट पार्टीमा केन्द्रमा देखिएको विवादसँगै मुख्यमन्त्री शेरधन राईले शनिबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाइ पदमुक्त गरेको भोली पल्ट तीन मन्त्रीको सामुहिक राजिनामा आएको हो।

कृषि राज्यमन्त्री ओली समूहमा लागे

प्रदेश १ का एकजना राज्यमन्त्रीले आफ्नो कित्ता परिवर्तन गरेका छन् । पुस्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर नेकपाको केपी ओली समूहमा लागेका हुन् ।

आइतबार मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि प्रचण्ड, नेपाल समूहका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिए पनि राज्यमन्त्री मगरले दिएनन् । मगर पूर्व एमाले हुँदा झलनाथ खनाल निकट नेता हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्