झापा , पुष १३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ ।

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो। हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्याली र सभा हुने कांग्रेसले जनाएको छ।
सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर ठिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन्।
महामन्त्री डा शशांक कोइरालाले नवलपुरमा सम्बोधन गर्नेछन्।प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ।

यता झापामा पनि कांगे्रसले प्रदर्शनको तयारी गरेको छ । जिल्लाका पाँचवटै क्षेत्रमा विरोध प्रदर्शन र सभा गरिने जिल्ला सभापति उद्धव थापाले बताए । क्षेत्र नं १ मा पूर्वमन्त्री एवं केन्द्रीय सदस्य सरिता प्रसाई , २ मा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी , ३ मा केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिक, ४ मा पूर्वमन्त्री एवं केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी र ५ मा पूर्वमन्त्री एवं केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले संबोधन गर्ने कार्यक्रम रहेको छ । क्षेत्रगत रुपमा क्षेत्र नं १ को धुलाबारी , २ को शनिश्चरे, ३ को बनियानी , ४ को दुधे बजार र ५ को दमकको गणतन्त्र चोकमा कार्यक्रम गरिने जिल्ला सभापति थापाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्