बिर्तामोड पुस, १३ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा भएको प्रतिनिधिसभा विघटनका विरुद्ध नेपाली कांग्रेसले देशभरका सबै निर्वाचन क्षेत्रमा सोमबार (आज) विरोध प्रदर्शन तथा विरोधसभा सम्पन्न गरेको छ । देशब्यापी कार्यक्रम अन्तर्गत झापाका पाँच वटै निर्वाचन क्षेत्रमा क्षेत्रस्तरीय विरोध प्रदर्शन र विरोध सभा सम्पन्न भएको छ । विरोध प्रदर्शन तथा विरोध सभाका अधिकांश बक्ताहरुले नेपालको राजनीतिक इतिहासमा २०१७ साल पुस १ र २०७७ साल पुस ५ गतेलाई ‘कालो दिन’ को संज्ञा दिएका छन् ।

नेपाली कांग्रेस नेतृत्वको जननिर्वाचित सरकारलाई तत्कालीन राजा महेन्द्रले अपदस्त गर्दै २०१७ साल पुस १ गते प्रजातन्त्र माथि ‘कू’ गरेका थिए । सो दिनलाई नेपाली जनताले अझै कालो दिनको रुपमा मनाउँदै आएका छन् । नेकपाको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अपब्याख्या गर्दै गत पुस ५ गते प्रतिनिधि सभाभङ्ग गर्ने निर्णय मन्त्री परिषदबाट गरेका थिए । मन्त्री परिषदको उक्त निर्णयलाई राजनीतिक दलका प्रमुख तथा संविधानविद, कानूनविदसँग छलफल नै नगरी तत्कालै राष्ट्रपतिले हस्ताक्षर गरेपछि उक्त असंवैधानिक कदमका विरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ । प्रधानमन्त्रीको उक्त असंवैधानिक र अलोकतान्त्रिक कदम फिर्ता लिएर संविधानको रक्षा गर्न मागगर्दै नेपाली कांग्रेसले देशब्यापी प्रदर्शन गरेको हो ।

नेपाली कांग्रेस क्षेत्र नं –२ को आयोजनामा झापाको अर्जुनधारा नगरपालिका स्थित शनिश्चरे बजार, क्षेत्र नं–१ अन्तरगत मेचीनगरको धुलाबारी, क्षेत्र नं–३ मा कचनकवलको बनियानी, क्षेत्र नं–४ मा शिवसताक्षी स्थित दुधे बजार र क्षेत्र नं–५ को दमकमा बृहद विरोध प्रदर्शन तथा विरोधसभा सम्पन्न भएको छ ।

झापा क्षेत्र नं–५ मा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले संविधानको संरक्षण अहिलेको प्रमुख दायित्व रहेको बताउँदै संविधानको रक्षापछि लोकतान्त्रिक विधि र पद्धतिबाटै ओलीलाई पाखा लगाउने धारणा राखे । “केपी शर्मा ओली नेतृत्वको सरकारले निर्वाचन अघि बाँडेका कुन चाहिं सपना पूरा गरे ?” नेता रिजालले प्रश्न गरे, “समृद्ध नेपाल र सुखि नेपालीको नारा के भयो ? झापा क्षेत्र नं–५ बाट जितेर गएपछि उहाँ फर्कनुभएको छ ? मावा र रतुवाखोलामा पूल बन्यो ? उहाँले रेल, ग्यासको पाइपलाइनको सपना बाँड्नुभयो तर यहाँका जनताको दुःख देख्नु भएको छ ?” झुटा आश्वासनमा पछि नलाग्न उनले जनतालाई सुझाव समेत दिए । नेकपा विवादकै कारण नेपाल दुई शक्ति राष्ट्रको चलखेल गर्ने भूमि बनेको बताउँदै उनले यसले नेपालको सार्वभौमसत्ता संकटमा परेको धारणा राखे ।

ओली एक्लो व्यक्तिका कारण देशमा सम्बैधानिक संकट उत्पन्न भएको जिकीर गर्दे उनले वर्तमान संविधानलाई सत्ता र शक्तिका आडमा आक्रमण गर्ने कार्य कांग्रेस लगायत लोकतन्त्रवादी शक्तिहरुलाई मान्य हुनै नसक्ने तर्क गरे । डा. रिजालले संविधानको रक्षा र समृद्धिको लक्ष्यलाई पूरा गर्न कांग्रेसमा थप जिम्मेवारी आएको बताउदै सत्ता र शक्तिको आडमा देश कव्जा गर्ने दुस्साहस नगर्न चेतावनी दिए । विभाजित भईसकेको नेकपा मिलाउन चिनियाँ कम्यूनिष्टका अधिकारीहरु नेपाल आएर दौडधुप गर्नु राष्ट्रिय स्वाभिमानका लागि नै लाजमर्दो विषय भएको उनले टिप्पणी गरे ।
क्षेत्र नम्बर –५का क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य दिलिप राई, दमक नगर सभापति रोशन विष्ट लगायतले बोलेका थिए ।

यता झापा क्षेत्र नं–२ को विरोधसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले नेकपा भित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले देश, जनता र लोकतान्त्रिक पद्धतिमाथि नै प्रहार गरेको बताउँदै उक्त असंवैधानिक कदम अस्वीकार्य रहेको बताए । “संविधानको तोडमोड गरेर धेरै वर्ष शासन गर्ने ज्ञानेन्द्रको सपना धेरै समय टिकेन” शिवाकोटीले भने , “केपी. ओलीले पनि यस्तै सपना देखेका हुन सक्छन्, यो केवल सपना मात्रै हुनेछ ।” कम्युनिष्ट तानाशाहलाद्ने अभ्यास नगर्न प्रधानमन्त्रीलाई चुनौति दिँदै नेता शिवाकोटीले भने, “अहिलेको सडक संघर्ष असंवैधानिक कदमका विरुद्ध हो, निर्वाचनका लागि पनि कांग्रेस तयार छ । कांग्रेस नेतृत्वकै सरकारले संविधान निर्माण गरेको हो, यसको संरक्षणको दायित्व पनि कांग्रेसकै काँधमा छ ।”

अर्का वक्ता नेपालीकांग्रेस झापाका सभापति उद्वव थापाले सरकारको असंवैधानिक कदम र कम्युनिष्ट नेतृत्वको सरकारले गरेको भ्रष्टाचारका विरुद्ध कांग्रेस सडकमा आएको बताउँदै भ्रष्टाचारको सबै हिसाव किताब सडकबाटै माग्ने उद्घोष गरे । “संविधान माथिको कू, जनविश्वास माथिको अपमान, भ्रष्टाचारका काण्डैकाण्डको छानवीन, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, कोरोना महामारी नियन्त्रणमा भएको ८ अर्ब भ्रष्टाचारको हिसाब किताव माग्न कांग्रेस सडकमा आएको हो”–सभापति थापाले प्रश्न गरे “बालुवाटार जग्गा प्रकरणका दोषीलाई कारबाही गर्नु पर्दैन ? भ्रष्टाचारका काण्डैकाण्डको छानवीन गर्नुपर्दैन ? भ्रष्टाचारमा संलग्नलाई कारबाही गनर्् पर्दैन ?’ निर्वाचनको नाटक गरेर कम्युनिष्ट अधिनायकबाद र सर्वसत्ताबादलाद्ने षडयन्त्रमा ओली लागेको सभापति थापाको आरोप थियो । २– नं क्षेत्रीय सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रम मामहासमिति सदस्य सिता पौडेल र नगर सभापति हेमराज खरेलले सम्बोधन गरेका थिए भने स्वागत धर्म लक्सम्बा र सञ्चालन किरण श्रेष्ठले गरेका थिए ।

यसैगरी झापा क्षेत्र नं–१ को धुलाबारीमा आयोजित विरोध सभालाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईँले वर्तमान सरकार भ्रष्टाचारका काण्डैकाण्डमा फसेको आरोप लगाउँदै असंवैधानिक काम गरेर जनमतको घोर अपमान गरेको आरोप लगाइन् । क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेल, नगर सभापति इन्द्र बुढाथोकी लगायतले बोलेका थिए ।

यसैगरी झापा क्षेत्र नं–३ कचनकबलको बनियानीमा विरोध सभा तथा प्रदर्शन सम्पन्न भएको छ । केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिकले सम्बोधन गरेको विरोध सभामा महासमिति सदस्य द्वयभगिरथ पोद्धार र भुमीप्रसाद राजवंशी, नेपाल महिला संघ झापा सभापति सुशिला ढकाल आचार्य, प्रदेश सभापति चिन्तामणि खरेल लगायतले बोलेका थिए । क्षेत्र–३ं क्षेत्रीय सभापति गणेश पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत कालेन्द्रप्रसाद राजवंशीले गरेका थिए ।
यता झापा दुधे बजारमा ४ नं क्षेत्रस्तरीय प्रदर्शन र विरोध सभा सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी प्रमुख अतिथि तथा प्रमुख वक्ता ररेको कार्यक्रम क्षेत्रीय सभापति जयनारायण शाहको सभापतित्वमा सम्पन्न भएको थियो ।

नेपाली कांग्रेस झापाका संगठन विभाग प्रमुख देउमान थेवे, पूर्व सचिव भक्ति सिटौला, महिला संघ क्षेत्रीय सभापति कविता बस्नेत लगायतले मन्तब्य राखेको कार्यक्रममा स्वागत शिवसताक्षीनगर सभापति पर्शुराम ढुङ्गाना र सञ्चालन क्षेत्रीय सचिव शिव कडेलले गरेका थिए । अधिकांस क्षेत्रमा आयोजित विरोधसभाका वक्ताले प्रधानमन्त्रीलाई प्रतिगामी कदम सच्याउन माग गर्दै प्रतिनिधि सभा विगठनको असंवैधानिक कदमले मुलुकलाई ७५ वर्ष अगाडिको अवस्थामा लैजान खोजेको आरोप लगाएका थिए । नेपालको राजनीतिक इतिहासमा कांग्रेसकै नेतृत्वमा सडक संघर्षबाटै ठूल– ठूला परिवर्तन भएको बताउँदै वक्ताहरुले ओलीको असंवैधानिक कदम पनि सडकबाटै सच्याउने तागत नेपाली जनता र कांग्रेसमा रहेको उद्घोष गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्