बिर्तामोड, पुष १३ । आफूहरुलाई कखरा सिकाउने गुरुआमा निरा प्रधानको जन्मोत्सव मनाइरहँदा महेन्द्र रत्न मावि अनारमनीका धेरै भुतपूर्व विद्यार्थीहरु भक्कानिए । गुरु मात्र नभएर आमा पनि बनेर शिक्षा दिनुहुने पूज्यनीय गुरुआमा निराको ७६ औं जन्मदिन मनाइरहँदा भावनात्मक रुपमा भुतपूर्व विद्यार्थीहरुलाई आँशु आएको हो ।

महेन्द्र रत्न माविको भुतपूर्व विद्यार्थी समाजले आयोजना गरेको जन्मदिनको कार्यक्रममा सम्मान गर्नका लागि स्वतःस्फूर्त पूर्वविद्यार्थीहरु भेला भएका थिए । उनीहरुले आदरणीय गुरुआमालाई भेट्दा कार्यक्रम अवधिभर रुने , हाँस्ने , नाच्ने र फोटो खिच्ने कार्य गरिरहे । निरा गुरुआमाको जन्मदिन नभएर जन्मोत्सवझैं व्यापक बन्यो ।

२०२० सालदेखि अध्यापन थालेर २०६२ साल पौष १२ गते अवकाश पाएकी निरा गुरुआमा ७५ वर्ष पूरा गरी ७६ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा भुतपूर्व विद्यार्थी समाजले विद्यालयमै उनको जन्मदिनको कार्यक्रम आयोजना गरेको थियो । विभिन्न पेशा , व्यवसाय र ओहोदामा पुगेका भुतपूर्व विद्यार्थीहरु आफूहरुलाई पढाउने गुरुआमालाई संझिएर सम्मानका लागि कार्यक्रममा उपस्थित भए । निराबाट शिक्षा पाएका डाक्टर , इन्जिनियर , प्राध्यापक , राजनीतिकर्मी, पत्रकार , उद्योगी , व्यवसायीलगायतले सम्मान प्रदान गरे । ब्यक्तिगत, एसएलसी उत्तीर्ण गर्ने विभिन्न व्याचका भुतपूर्व विद्यार्थीहरुको समूह र संस्थागत तर्फबाट उनलाई सम्मान गरिएको थियो । महेन्द्र रत्न माविका संस्थापक प्रधानाध्यापक किशोर प्रसाईको प्रमुख आतिथ्य एवं भुतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्र रत्न माविका प्रअ खड्गप्रसाद खरेल ,नारी संचार गृहकी भीमा शिवाकोटीलगायतले शुभकामना मन्तब्य राखेका थिए । सम्मानित व्यक्तित्व निराको जीवनीबारे पूर्वविद्यार्थी वीरु दर्नालले प्रकाश पारेका थिए । भुतपूर्व विद्यार्थी नेपाल विद्यार्थी संघकी पूर्व सह–महामन्त्री उमा शिवाकोटीले स्वागत गरेको कार्यक्रमको संचालन पूर्व विद्यार्थी अनारमनी पब्लिक क्याम्पसका प्रमुख मोहन शिवाकोटीले गरेका थिए । कार्यक्रममा हाल सांगीतिक क्षेत्रमा लागेका पूर्वविद्यार्थीहरु विमल बुढाथोकी , चेतन चुँडालसहित प्रिष्टिला राई र अन्जली तिम्सिनाले गीतसंगीत प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा भुतपूर्व विद्यार्थी समाजले अक्षय कोष स्थापना गर्नु पर्छ भन्ने माग गर्दै अक्षय कोषका लागि विभिन्न दाताहरुले सहयोग प्रदान गरेका छन् । कार्यक्रममा समाजका अध्यक्ष राजकुमार पोखरेलले २५ हजार , संस्थापक प्रअ किशोर प्रसाईले २५ हजार , संगीता थापा बस्नेतले २१ हजार , नरेश न्यौपानेले १० हजार , रुपक थापाले १० हजार , मोहन शिवाकोटीले १० हजार , सरिता बस्नेत खत्रीले ५ हजार र विष्णु मैनालीले ५ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
महेन्द्र रत्न माविमा निराले भारतको दार्जिलिङबाट आएर २०२० सालदेखि अध्यापन थालेकी थिइन् । जव यस विद्यालयको नाम महेन्द्र रत्न विद्या भवन मल्टिपर्पोज मिडिल स्कूल रहेको थियो । सो विद्यालय २०१४ सालमा स्थापना भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्