बिर्तामोड पुस १५ । झापाको बिर्तामोड पछिल्लो समय पूर्वको प्रमुख व्यापारिक हबको रुपमा विकास हुँदै गइरहेको शहर हो । व्यापारिक चहलपहलले बिर्तामोडको गतिविधि बढाएसँगै विभिन्न प्रयोजनले बिर्तामोड आउनेको संख्या पनि बढ्दो छ । बिर्तामोड आउने र बिर्तामोड हुँदै पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङसम्म जाने पाहुनाको अक्सर एउटा प्रश्नै हुन्छ, “खाना कहाँ खाने ? कतै थकाली किचन छ ?” बिर्तामोडमा सीमित संख्यामा रहेका थकाली किचनमा खाना खानुपर्ने बाध्यता छ पाहुनालाई । त्यसमा पनि व्यवस्थित रुपले थकाली खाना पाइने रेस्टुराँको अभाव थियो बिर्तामोडमा ।

‘जहाँ पनि, जहिले पनि’ भनेजस्तै यो थकाली खाना सर्वव्यापी भएको छ । तर, जसै तपाईं थकाली खानाका लागि यी भोजनालयहरु चाहर्नु हुनेछ, स्वादमा एकरुपपता पाउनु हुने छैन । यतिबेला तपाईंलाई द्विविधा हुनसक्छ, खासमा थकाली खानाको असली स्वाद कस्तो होला ?
बरमाझियाको ‘पेडा’ झै शहरका असली ‘थकाली खाना’ पहिचान गर्न गाह्रो छ । किनभने ‘थकाली खाना’ भनेर तपाईंको थालीमा आइपुग्ने परिकारले असली तलतल नमेट्न सक्छ । केवल ‘थकाली खाना’को ब्रान्ड बेच्ने होडमा अहिले दाल–भातको बजार फिँजाइएको छ । त्यसो भए असली थकाली खानाको स्वाद कस्तो हुन्छ ? थकाली खानामा के कस्ता परिकार समावेश हुन्छ ?
बिर्तामोडमा गुणस्तरीय थकाली किचनको अभाव देखेर नै आफूले थकाली किचन एण्ड बार सञ्चालनमा ल्याएको दमकका युवा व्यवसायी दिवस राई बताउँछन् । झापाको दमकमा लामो समयदेखि थकाली किचन सञ्चालनमा ल्याएका राईले बिर्तामोडको सिटी सेन्टरमा शाखाको रुपमा थकाली किचन सञ्चालनमा ल्याएका छन् । बिर्तामोडमा थकाली किचनको माग रहेको राईको भनाई छ ।

थकाली किचनमा अर्गानिक खाना खुवाउने राई बताउँछन् । “लोकल कुखुराको मासु, खसीको मासु र प्रत्येक शुक्रबार च्याङ्ग्राको मासु यहाँ पाइन्छ, साँधेको गुन्द्रकु, मुस्ताङ्को कालो र सेतो दाल, आलुको तरकारी, साग, अचार, पहाडको घ्यू हाम्रो थकाली किचनको परिकार यिनै हुन्” राईले भने । यामअनुसारको सलाद र मोही पनि खान पाइने राई बताउँछन् । “थकाली खाना मौलिक ‘नेपाली ब्रान्ड’ नै बनेको छ” राईले भने, “हामी ग्राहकलाई स्वाद र व्यवहारले तान्छौँ ।” अर्गानिक अन्न र तरकारीलाई आफ्नो मौलिकतामा ढाल्नु पनि थकालीको विशेषता रहेको राईले बताए ।

नेपालको सीमामा मात्रै नभएर विश्वमा फस्टाउँदै गएको छ थकाली खाना । यतिबेला थकाली खाना मुस्ताङको थाक खोलामा मात्रै सीमित छैन । त्यही उत्साहले सगरमाथाले चिनाएको देशको अर्काे पहिचान बढाउँदै गएको थकाली खानाबाट पूर्ण सन्तुष्टिले पुलकित भएको विदेशीले भन्ने गर्छन् ‘वाह ! भेरी अमेजिङ नेपाली फुड !’ व्यावसायिक हुँदै गएको थकाली खानाको ब्राण्ड यतिबेला विश्वको आधा दर्जन मुलुकमा बिस्तार भइसकेको छ । अहिले बजारमा पाइने थकाली खानामा केही आधुनिकता छाएको छ । कसौंडीको प्रयोग हराएको छ । केही खानेकुरा मेनुबाट हटाइएको छ । केही अरुको खानालाई पनि समेटिएको छ । तर, वास्तवमै भन्ने हो भने स्वाद र सन्तुष्टि मात्रै होइन ,मौसम अनुकूल पौष्टिकतायुक्त पनि हुनु पर्छ यी परिकारहरु ।

थकाली खाना स्वादिलो बनाउन आवश्यक कच्चा पदार्थको पनि गुणस्तर हुनुपर्छ । त्यसबाहेक खाना पकाउने विषयमा कुनै कमजोरी हुनुहुँदैन । थकाली भान्छामा पाक्ने परिकार धेरै स्थानीय नै हुन्छ । पछिल्लो समय थकाली खानाको स्वाद खस्किँदो छ । कारण–भान्छामा पाक्ने सामग्री नै गुणस्तरीय हुन छाडेका छन् । “अहिले चामल, दाल, घ्यू तेल, तरकारी सबैको स्वाद पहिलेजस्तो छैन । खानामा प्रयोग गर्ने कच्चा पदार्थ नै पहिलेजस्तो गुणस्तरीय हुन छाडेको छ” राई भन्छन्, “मैले भने लामो समयदेखि दमकमा गुणस्तरीय खाना खुवाउँदै आइरहेको छु, ग्राहकको विश्वास जितेको छु, त्यो विश्वास कायम राख्ने छु ।” थकाली खानाका साथै चाइनिज र इन्डियन खानासमेत उपलब्ध हुने राईको भनाई छ ।

१५ जनाभन्दा बढीलाई रोजगारी दिँदै झण्डै एक करोड रुपैयाँको लागतमा सञ्चालनमा ल्याएको थकाली किचनको उद्घाटन होटल व्यवसायी संघ झापाका बरिष्ठ उपाध्यक्ष नरेश बोहोराले गरे । होटलको उद्घाटन गर्दै बरिष्ठ उपाध्यक्ष बोहोराले झापामा होटल व्यवसाय क्षेत्र पर्यटनसँग प्रत्यक्ष जोडिएकाले यो क्षेत्रमा लगानी गर्नेहरु उत्साहित भएको बताए । पूर्वी नेपाल पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको ठाउँ रहेकाले लगानीकर्ताहरु थप उत्साहित बनेको उनी बताउँछन् । “सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने घोषणा गरेपछि झापामा होटल व्यवसाय क्षेत्रमा लगानी गर्ने क्रम बढ्दो मात्रामा थियो” उनले भने, “कोरोना भाइरस (कोभिड १९ )को संक्रमणका कारण सुस्ताएको यो क्षेत्र अहिले बिस्तारै तङ्ग्रिदै गएको छ भने नयाँ लगानीकर्ताहरुले समेत यो क्षेत्रमा लगानी गर्न शुरु गरेका छन् ।”

थकाली खानाको ऐतिहासिकता खोज्न सजिलो छैन । थकाली खानाको ऐतिहासिकता खोज्न थकालीको इतिहास खोज्नुपर्छ । जुन पाँचौं शताब्दीसम्म जोडिएको छ । थाक खोलाको इतिहास खोज्ने हो भने त्यहाँको चार वटा ‘चन’हरुका भिन्दाभिन्दै पुर्खा भेटिन्छन् । गौचनका पुर्खा अलानी, तुलाचनका पुर्खा च्योसम, भट्टचनका पूर्खा पाउकुती र शेरचनका पूर्खा ढाक्पाघलेचनसम्म पुग्न सकिन्छ ।

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्