बिर्तामोड, पुष १४ । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्नो दह्रो उपस्थिति देखाएको छ । नेकपा झापाको जिल्ला भेला गरी सो समूहले दुईतिहाई आफ्नो पक्षमा रहेको सावित गरिदिएको हो ।

१७७ सदस्यीय जिल्ला कमिटी रहेको झापामा प्रचण्ड–नेपाल समूहका १२६ जना जिल्ला सदस्य त्यस भेलामा उपस्थित थिए । त्यस्तै कार्यालय कमिटीका ७ जनामध्ये ५ जना पनि त्यस भेलामा उपस्थित रहेको जनाइएको छ । जिल्ला कमिटी , कार्यालय कमिटी र सचिवालय कमिटी सबैमा आफूहरुको दुईतिहाइ रहेको त्यस समूहले जनाएको छ ।

भेलामा उपस्थित भएर १२६ जना जिल्ला कमिटी सदस्यहरुले हस्ताक्षर गरेको एक जिल्ला सदस्यले बताए । बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा भएको भेलामा चार सयभन्दा बढी पार्टी कार्यकर्ताको सहभागिता रहेको थियो । भेलाका सहभागीहरुले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको डटेर सामना गर्ने चेतावनी दिएका छन् । भेलाले पुष १६ गते झापाका सबै पालिकाका सबै वडाहरुमा बैठक गर्ने र १८ गते ओली प्रतिगमनको विरोधमा बृहत प्रदर्शन गर्ने निर्णय गरेको छ ।
पुष १६ गते झापाको १३१ वटै वडा कमिटीको भेला पार्टी सदस्यहरुको व्यापक सहभागितामा सम्पन्न गर्ने र भेला सम्पन्न गर्न सम्बन्धित गाउँ–नगरमा रहनुहुने प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र गाउँ– नगरका अध्यक्ष, सचिवले कार्य विभाजन गर्ने नेकपा झापा सचिव मणिकुमार साम्पाङले जानकारी दिए । पुष १८ गतेको प्रतिगमनविरुद्धको आन्दोलनमा जिल्लाका १५ वटै स्थानीय तहबाट ८ हजारबढी पार्टी कार्यकर्ता सहभागी हुने उनले दावी गरे । प्रतिगमनविरुद्धको संघर्षको दैनिक कार्यक्रम जिल्ला कमिटीमातहतका जवस– मोर्चाहरुको संयुक्त संघर्ष समिति बनाई उक्त संघर्ष समितिको नेतृत्वमा नियमित संघर्षको कार्यक्रम सम्पन्न गरिनेछ’, उनले भने, ‘जवस– मोर्चाका पदाधिकारीहरुको संयुक्त भेला पुष २० गते गौरीशंकर स्मृति प्रतिष्ठान बिर्तामोडमा आयोजना गरिनेछ ।’

भेलाले प्रचार–प्रसारको कामलाई व्यवस्थित गर्नका लागि विरेन्द्र बस्नेत, सन्तोष आचार्य र दधि रिमाललाई जिम्मेवारी दिएको छ । प्रतिगमनको विरुद्धमा उभिएका सबै राजनीतिक दलसँग समन्वय गरी संयुक्त संघर्षका निम्ति पहल गर्ने भेलाले निष्कर्ष निकालेको छ ।
भेलामा बोल्दै प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य एवम् प्रदेश सहइञ्चार्ज नरेश खरेलले खुन–पसिना बगाएर स्थापित कम्युनिष्ट सरकार जनतालाई धोका दिन नहुने बताए । उनले भने, ‘जनताले दिएको बहुमतलाई अपमान गरेर प्रतिगमनमा जाने छुट कसैलाई छैन ।’

भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रविन कोइरालाले झापा प्रतिगामीहरुको नभई क्रान्तिकारीहरुको जिल्ला भएको बताए । केन्द्रीय सदस्य तथा झापा सह–इञ्चार्ज धर्मशीला चापागाईले सुखानीका शहीदहरु जन्मिएको जिल्ला झापा कम्युनिष्टहरुको किल्ला हुनुपर्नेमा जोड दिइन् । उनले त्यसको निम्ति कम्युनिष्ट पार्टीका सचेत कार्यकतालाई एकजुट हुन आह्वान गरिन् ।
त्यस्तै, केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज झलकसिंह दर्लामी (सन्देश) ले संवैधानिक ‘कु’ र प्रतिगमनविरुद्ध झापाली जनतलाई एकजुट भएर अघि बढ्न आह्वान गरे । ‘झापाली जनता क्रान्ति र परिवर्तनमा जहिल्यै उभिएका छन्’, उनले भने, ‘झापा प्रतिगमनको पक्षमा छैन ।’ उनले पुष १८ गते तय गरिएको सडक संघर्षमा उत्रन सबैलाई अपिलसमेत गरे ।
कार्यालय सदस्य चन्द्रा श्रेष्ठले स्वागत गरेको कार्यक्रमको संचालन कार्यालय सदस्य राजेन्द्र दाहालले गरेका थिए । कार्यक्रमको अध्यक्षता जिल्ला सचिव विजय साम्पाङले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्