बिर्तामोड पुस, १५ । विराट अर्जुन उपभोक्ता सहकारी संस्था लि.को अध्यक्षमा नवीन खरेल चयन भएका छन् । बुधबार झापाको बिर्तामोडमा सम्पन्न ११ औँ बार्षिक साधारणसभामा खरेल दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । संस्थाको उपाध्यक्षमा यादवकुमार ओली, सचिवमा डिल्लीराम प्रसाईँ चयन भएका छन् ।


त्यस्तै संस्थाको सदस्यमा दिपेश प्रसाईँ, शन्तकुमार कट्टेल, मिना खरेल, संजोग खरेल, श्रीकृष्ण प्रसाद कुईँकेल, घनश्याम खनाल, बद्रीप्रसाद ओली र पंकज खरेल चयन भएका हुन् । संस्थाको लेखा सुपरिवेक्षक समितिको संयोजकमा अनुप सापकोटा, र सदस्यहरुमा रामबाबु सुवेदी र रमाकुमारी रेग्मी चयन भएका छन् ।


जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकालको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थाका अध्यक्ष खरेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । ‘सहकारीको उत्पादन सहकारीमार्फत् बजारीकरण’ भन्ने मुल नाराका साथ सहकारीले गत वर्षदेखि सहकारी पसल सञ्चालनमा ल्याएको जनाए । सम्पूर्ण सदस्य साथै उपभोक्तालाई शुद्ध एवम् स्वास्थ्यबद्र्धक सामग्री उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालनमा ल्याएको अध्यक्ष खरेलले बताए ।


बिर्तामोडलाई कार्यक्षेत्र बनाएर सञ्चालनमा आइरहेको विराट अर्जुन सहकारीमा २ हजार ८४ जना शेयर सदस्य रहेका छन् । १० लाख, ८३ हजार ९ सय शेयर पुँजी रहेको सहकारीमा ७ करोड १८ लाख, ३१ हजार ३१० रुपैयाँ बचत रहेको छ । सहकारीले चालू आर्थिक वर्षदेखि बाल बचत खाातालाई व्यापकता, उपचार खर्चमा छुट, कर्जा व्यवस्थापनमा कडाई, पसल उपसमितिलाई थप जिम्मेवारी, सदस्य सक्रियता कार्यक्रम, बचत प्रक्रियामा वृद्धि, पसलमा पुँजी वृद्धि, बचतलाई डिजिटलाइज, घरेलु उत्पादनलाई प्रोत्साहन लगायत कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने सहकारीले जनाएको छ ।


सहकारीले स्व.शेयर सदस्य नरमाया खरेलको स्मृतिमा शिक्षा कोष स्थापना गरेको छ शिक्षा कोष मार्फत् सरकारी विद्यालयमा अध्ययनरत शेयर सदस्यका छोराछोरीलाई शैक्षिक सामग्री उपलब्ध गराउने जनाइएको छ । सोही अनुरुप बुधबार साधारण सभाको अवसरमा बिरअम्बर सिंह प्राविधिक विद्यालय चारपानेमा अध्ययनतर २ छात्रालाई शैक्षिक सामग्री उपलब्ध गराएको छ ।
कार्यक्रममा सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष सुभास भट्टराई, राष्ट्रिय सहकारी बैंक बिर्तामोडका प्रमुख विवेक डाँगी, निर्वाचित सदस्य शन्तकुमार कट्टेल लगायतले बोलेका थिए । संस्थाका उपाध्यक्ष यादव ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम प्रसाईँले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्