बिर्तामोड, पुस १५ । ताप्लेजुङको पाथिभरा मन्दिर क्षेत्र भित्रको सिम्बु सामुदायिक वन फावाखोलामा भएको आगलागी नियन्त्रणमा समस्या भएको छ । गत बिहीबारदेखि लागेको डढेलो आइतबार केही नियन्त्रणमा आएपनि सोमबार बिहानबाट पुनः फैलिएको हो ।


पाथिभरा मन्दिर क्षेत्रमा जाने बाटोमा भने भक्तजनलाई असर नपरोस् भन्ने हेतुले बाटोमा आगलागी हुन नदिन विशेष सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठले बताए । भौगोलिक विकटता र पानीको अभावले गर्दा आगो लागेको स्थानमा जान जोखिम रहेको प्रमुख श्रेष्ठले बताएका छन् । मन्दिर आसपास भने पाथिभरा संरक्षण सम्वद्र्धन समितिको सहकार्यमा सिम्रिक एयरको हेलिकप्टरबाट पानी लगाइएको छ । आगालागीको कारण र संलग्नताबारे अनुसन्धान भइरहेको श्रेष्ठ बताउँछन् । हालसम्म अन्दाजी ५ सय रोपनी वन क्षेत्रमा आगो फैलिएको प्रहरीले जनाएको छ । २ हजार गोब्रे सल्लो, १ हजार धुपी सल्लो, १ हजार गुराँस लगायत रुख जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


हेलिकोप्टरबाट पानी हानेर मन्दिर परिसर बचाइएको स्थानीय पत्रकार सिताराम गुरागाईँले बताए । जंगलको आगो नियन्त्रण भने असम्भव रहेको गुरागाईँ बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्