बिर्तामोड, पुष १६ । नेपाली कांग्रेसले बिहीबार मेलमिलाप दिवस मनाएको छ ।

राष्ट्रिय संकट आइपरेका बेला आस्था र विचारभन्दा माथि उठेर देशमा क्रियाशील राजनीतिक शक्तिहरुसँग सहकार्य गर्नुपर्छ भन्ने सन्देशसहित निर्वासनमा रहेका नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (वी.पी.) कोइराला २०३३ साल पुष १६ गते मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए ।
२०१७ साल पुष १ गते तत्कालीन राजा महेन्द्र शाहले नेपाली कांग्रेस नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्त गरी प्रजातान्त्रिक शासन ब्यवस्थामाथि ‘कू ’गरेका थिए । त्यसैबेलादेखि लगभग ८ बर्षबढीको कठोर जेलजीवन विताएका वी.पी.सहितका कांग्रेस नेताहरुलाई तत्कालीन सरकारले झुटा मुद्धा लगाउँदै निर्वासनको सजाय दिएको थियो ।

स्वदेश फर्कदा उनलाई फाँसीसहितको सजाय हुनसक्ने जोखिम रहेपनि वी.पी. कोइरालाको नेतृत्वमा मेलमिलापको नीति लिएर कांग्रेस नेताहरु लगभग ६–७ बर्षको निर्वासनपछि स्वदेश फर्किएका थिए । यसै दिवसको सन्दर्भ पारेर बिहीबार कांग्रेस कार्यकर्ताहरुले वी.पी.लाई सम्झदै वर्तमान राजनीतिक संकटबारे चर्चा परिचर्चा गरेका छन् ।
झापाका १३१ वटै वडामा वडास्तरीय कार्यक्रम गरी नेपाली कांग्रेस वडा समितिले वी.पी.लाई सम्झिएका हुन् । प्रजातान्त्रिक समाजवादका प्रणेता वी.पी.ले नेपाली राजनीति र साहित्यमार्फत समाज परिवर्तनमा खेलेको भूमिकाको चर्चा गर्दै विभिन्न कार्यक्रमहरुमा मेलमिलापबाटै राष्ट्रमा उत्पन्न संकट समाधान हुने र शान्ति तथा स्थिरता कायम हुने धारणा राखेका हुन् ।
निर्वाचित प्रतिनिधिसभा विघटन भएको वर्तमान सन्दर्भमा समेत मेलमिलाप नीति उत्तिकै समयसान्दर्भिक रहेको चर्चा गर्दै नेतृत्ववर्गले पदलोलुपता छाडेर संविधानको पूर्ण पालनासहित लोकतान्त्रिक विधि र पद्धतिको संरक्षण आजको आवश्यकता भएको चर्चा गरेका हुन् ।

अर्जुनधारा नगरपालिका–७ मा आयोजित वडास्तरीय कार्यक्रम नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको प्रमुख आतिथ्य र वडा सभापति नवीन ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले निर्वाचित प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्रीले अलोकतान्त्रिक काम गरेको बताए । वी.पी.ले परिकल्पना गरेको समाजवादको आदर्श र मेलमिलाप नीतिलाई सबैले अनुकरण गर्नुपर्नेमा उनको जोड थियो ।
मेलमिलाप दिवसको सन्दर्भ पारेर अर्जुनधारा वडा नं–६ ले नेपाली कांग्रेस झापाको कार्यालयमा एक कार्यक्रम आयोजना गरेको थियो । उमाकान्त लुइटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा दीपक तामाङ, मेनुका ओली, रामबहादुर कटुवाललगायतले बोलेका थिए । अर्जुनधारा–५ का सभापति देवीनाथ खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस प्रचार–प्रसार समिति संयोजक कृष्ण हुमागाई, नगर सभापति हेमराज खरेललगायतले बोलेका थिए ।
यसैगरी नेपाली कांग्रेस मेचीनगर समितिले नगरस्तरीय कार्यक्रम सम्पन्न गरेको छ । नगरसभापति इन्द्र बुढाथोकीको सभापतित्व र जिल्ला उपसभापति राम कट्टेल, सचिवद्वय प्रेम सम्बाहाम्फे र तारावीर कटुवाल, कोषाध्यक्ष केशवराज पाण्डेलगायतले मन्तब्य राखेका थिए । यसैगरी मेचीनगर–१४ मा प्रेम न्यौपानेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रवक्ता लोकराज ढकाललगायतले शुभकामना मन्तब्य राखेका थिए ।
बिर्तामोड नगरपालिका–५ मा वडास्तरीय कार्यक्रम सम्पन्न भएको छ । महासमिति सदस्य सीता पौडेलको प्रमुख आतिथ्य र दिपक मेन्याङबोको सभापतित्वमा सम्पन्न कार्यक्रममा लक्ष्मी आचार्य, पुष्पलाल चौधरी, लव चौधरी, पवित्रा पाठकलगायतले बोलेका थिए भने सञ्चालन अच्युत दाहालले गरेका थिए ।

यसैगरी झापाको दमकमा पनि नगरस्तरीय कार्यक्रम सम्पन्न भएको छ । नगर सभापति रोशन विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेनुका बुढाथोकी, शेरबहादुर भट्टराई, ढुण्डी भण्डारीलगायतले मेलमिलाप दिवसको महत्वबारे धारणा राखेका थिए ।
यसैगरी बिर्तामोड नगरपालिका–२ मा आयोजित कार्यक्रममा धर्म लक्सम्बा, पार्वता गिरी, उर्मिला ढकाल पोखरेललगायतले बोलेका थिए । कार्यक्रम घनश्याम दाहालको सभापतित्वमा भएको थियो । बिर्तामोड–३ का सभापति प्रेम उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भोजराज सिटौला, पार्वता गिरीलगायतले बालेका थिए ।
त्यस्तै कचनकवल–७ मा पनि वी.पी. र उनले लिएको मेलमिलाप नीतिबारे चर्चा गरिएको छ । वडा सभापति भरत राजवंशीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । भद्रपुर–८ मा आयोजित कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरावगी, नेपाल महिला संघ केन्द्रीय सदस्य गोमा भटराई, नेपाली कांग्रेस जिल्ला सदस्य लता कार्की, जे.पी. शर्मा, क्षेत्रीय सभापति गणेश पोखरेललगायतले बोलेका थिए ।
यसैगरी नेपाली कांग्रेस भातृ संस्था समन्वय विभागका प्रमुख देउमान थेवेको प्रमुख आतिथ्यमा कनकाई नगरपालिकामा कार्यक्रम सम्पन्न भएको छ । नेत्र चिमरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोपाल उप्रेती, सुन्दरा लुहागुनलगायतले बोलेका थिए । झापाको बाह्रदशीमा ओमप्रकाश गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व जिल्ला सचिव दयानन्द गोश्वामी, रामप्रसाद दुलाललगायतले बोलेका थिए । यसैगरी हल्दिबारी–४ का सभापति भीम फियाकको सभापतित्व र जिल्ला सदस्य पुस्तकराज नेपालको प्रमुख आतिथ्यमा मेलमिलाप दिवस सम्पन्न भएको छ ।

त्यस्तै झापा गाउँपालिकामा पनि काँग्रेसले ४४ औं मेलमिलाप दिवस मनाएको छ ।
नेपाली काँग्रेस वडा समिति १ र २ को सयुंक्त आयोजनामा झापा बजारमा रहेको सामुदायिक भवनमा बिहीवार मेलमिलाप दिवस मनाइएको हो ।


नेपाली काँग्रेस वडा नं १ का वडा सभापति द्धारिका खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्षेत्र नं ४ का सभापति तथा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह रहेका थिए । क्षेत्रीय सभापति शाहले नेपाली काँग्रेसले प्रत्येक वर्ष वीपी मेलमिलाप दिवस मनाउदै आएको बताए । वीपीलाई सम्झदै गर्दा वीपीका मेलमिलापका सिद्धान्त र उनले दिएका उपदेशहरु लागु गर्नुपर्नेमा शाहले जोड दिए । वडा सचिव कुमार गणेशले स्वागत गरेको कार्यक्रममा जिल्ला सदस्य पुष्पा प्रसाई , क्षेत्रीय महिला सभापति अन्जु थपलिया , झापा गाउँपालिका उपसभापति राजकुमार यादव, टेकबहादुर कार्की, मोहन चम्लागाईलगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा क्षेत्रीय सचिव शिव कँडेल , मोहन कार्की , प्रताप विश्वकर्मा , हिमाल चम्लागाईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन राजकुमार कोचले गरेका थिए ।
त्यस्तै मेलमिलाप दिवसको अवसर पारेर नेपाली काँग्रेस भद्रपुर ९ नम्बर वडा समितिले प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।

वडा सभापति गोपालप्रसाद श्रेष्ठको सभापतित्व तथा झापा जिल्ला सचिव प्रेम सम्वाहाम्फेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमममा नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, नेपाली काँग्रेस झापा जिल्ला सदस्य राजेन्द्र रिजाललगायतले मन्तव्य राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसबाहेकका दलले भूमिका खेल्न नसक्ने तर्क प्र्रस्तुत गरेका थिए । वडा समितिका सहसंयोजक लावण्यकुमार पोखरेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत सेवा निवृत्त कर्मचारी समाज झापाका सचिव चेतनाथ भट्टराईले गरेका थिए भने क्षेत्रीय सचिव रमेश पोखरेल, क्षेत्रीय सदस्य पार्वती मल्ल, बुद्धिराज राई , टेलिकम कर्मचारी वर्कस युनियनका अध्यक्ष चिरञ्जीवी भट्टराई, नेपाली काँग्रेस अष्ट्रेलिया जनसम्पर्क मञ्चका प्रवक्ता रोहित खड्काको सहभागिता रहेको थियो । कार्यक्रममा भद्रपुर ९ का सन्तोष खड्का नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशी खड्कालाई प्रमुख अतिथिले सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए ।
झापाका १५ वटै गाउँ–नगरका १३१ वटै वडामा नेपाली कांग्रेस वडा समितिले आयोजना गरेको मेलमिलाप दिवसलाई जिल्लाबाट खटाइएका प्रतिनिधिहरुले सम्बोधन गरेका छन् । नेपाली कांग्रेस झापाको यसअघि सम्पन्न बैठकले सबै वडामा प्रतिनिधि खटाएको थियो । जिल्लाका पार्टी पदाधिकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय तथा प्रदेश क्षेत्रीय सभापतिहरुलाई प्रतिनिधि पठाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्