शिवसताक्षी , पुष १६ । स्थानीय तहका जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि र अगुवा महिलाहरुलाई लक्षित गरी शिवसताक्षी नगरपालिकामा विहीबारदेखि ५ दिने नेतृत्व विकास तथा योजना छनौटसम्बन्धी तालिम शुरु भएको छ ।

शिवसताक्षी नगरपालिकाको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा शुरु भएको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले गरे ।
कार्यक्रममा नगर प्रमुख शेर्माले तालिममा सिकेका कुरालाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउन आग्रह गर्दै तालिमले आगामी दिनमा नगरका योजना छनौटमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपालले पदीय जिम्मेवारी अनुसार काम गर्ने क्षमता विकासमा पनि महिलाहरुले विकास गर्न जरुरी रहेको धारणा राखिन् ।
सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटाले तालिमलाई साधनका रुपमा लिएर साध्यका रुपमा प्रविधिलाई पनि प्रयोग गर्न सकिनेतर्फ ध्यानाकर्षण गराए । नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, लेखा अधिकृत प्रकाश लिम्बू, योजना अधिकृत प्रकाश चौधरी, नारी संचार गृहका संस्थापक अध्यक्ष सावित्रा दाहाल, निवर्तमान अध्यक्ष अम्बिका भण्डारी, सल्लाहकार लीला अनमोल, विनोद सापकोटा, छविलाल दवाडीलगायतको उपस्थिति रहेको थियो ।
जनप्रतिनिधि, स्थानीय संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधि र अगुवा महिलाहरुको सहभागिता रहेको तालिममा ५६ जना बढीको सहभागिता रहेको छ । तालिमको पहिलो दिन विहीबार प्रेम गिरीले मोटिभेसन सम्बन्धी सहजीकरण गरेको नारी संचार गृहका सहसचिव सुशिला संग्रौलाले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्