बिर्तामोड , पुष १७ । बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर हस्पिटलले पहिलो वर्षमा ५ सयभन्दा बढी सर्जरी गरेको छ ।

हस्पिटलको पहिलो वार्षिकोत्सवका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै हस्पिटलका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले पहिलो एकवर्षमा छातीका १०५ , कोलोरेक्टल ५० , न्यूरो २५ , गाइनो ५०, टाउको र घाटी १०० , सार्कोमास १० लगायतगरी ५ सयभन्दा बढी सर्जरी गरिएको बताए । उनले रेडिएसन ४१३ वटा गरिएको बताउँदै क्यान्सर हस्पिटलको ओपिडीमा जम्मा २६ हजार , नयाँ क्यान्सरको विरामी २६०० , जम्मा रेडियो सर्जरी ४० , जम्मा मामोग्राफी४०० , जम्मा बायोप्सी ३३५६ , जम्मा एमआरआई ३१९ , जम्मा सिटी ५२६ , , जम्मा युएसजी ८८० , जम्मा इन्प्यासेन्ट ८४२ र जम्मा डेकेयर २५९०जना विरामीको गरिएको जानकारी दिए ।

गत वर्षको जनवरी १ मा शुरु गरिएको पूर्वाञ्चल क्यान्सर हस्पिटल अहिले ८ तले भवनमा ३ सय शैय्याको रहेको छ । ओपिडीबाट शुरु गरिएको हस्पिटलमा हाल सयजना स्टाफ रहेको मेडिकल डाइरेक्टर यादवले बताए । सरकारले अघिल्लो वर्ष सन् २०२० लाई पर्यटन वर्ष मनाइरहेकै दिन २९ वर्षिय पदम मिश्रलाई रेडिएसन दिएर सो हस्पिटलको उद्घाटन गरिएको थियो । हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईको चार वर्षअघिको परिकल्पना उनको मुखमा क्यान्सर हुँदा उपचारका क्रममा सल्लाह भएर मूर्त रुप लिएको डा. यादवले बताए । उनले अबको केही दिनमै एशियामै पहिलो पटक साइबर नाइफको रोवर्टिक सर्जरी मेशिन ल्याउन लागेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले आफूले शुरुमा क्यान्सर हस्पिटल खोल्दा कसैले नपत्याएको स्मरण गर्दै आफ्नो आत्मविश्वास र अठोटले त्यसलाई पूरा गर्न सकिएको बताए । उनले एकैदिन शुरु गरिएको पर्यटन वर्ष असफल बन्दा क्यान्सर हस्पिटलले सबैको सहयोगले इतिहास बनाउन सकेकोमा खुशी ब्यक्त गरे । प्रसाईले आफूलाई पत्रकारहरुले निकै खेद्ने काम गरेकोमा गुनासो गर्दै खराब काम नगरेकै कारण भेट्न नसकेको बताए ।

कार्यक्रममा बिएण्डसी हस्पिटलका मेडिकल डाइरेक्टर डा. निराजन पराजुली, डा. उमेश शर्मा , पत्रकार मोहनकाजी न्यौपानेलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा सिओ निराजन प्रसाई , प्रदीप बस्नेतलगायतकाचिकित्सक र कर्मचारीहरुको उपस्थिति रहेको थियो । पहिलो वर्ष पुरा गरी दोस्रो वर्ष प्रवेश गरेको अवसरमा हस्पिटल परिवारका सदस्यहरुले केक काटेर खुशियाली मनाएका थिए । कार्यक्रमको संचालन जनसम्पर्क अधिकारी प्रमिश गिरीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्