कमल , पुष २० । दुवै मिर्गौला बिग्रिएर धरानमा उपचाररत ७ बर्षिय बालक एलन नेम्बाङको उपचारका लागि सहयोग जुट्न थालेको छ ।

विभिन्न मनकारी व्यक्ति तथा संघसंस्थाहरुले मिर्गौलापीडित ती बालकलाई सहयोग गर्न थालेका हुन् । कमल गाउँपालिका वडा नं ४ मिलडाँडा निवासी कृष्णबहादुर नेम्बाङ र हिमाकुमारी सेर्मा नेम्बाङका ७ बर्षिय छोरा एलनको दुबै मिर्गौला बिग्रिएर हाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । आर्थिक अभावका कारण परिवारलाई उनको उपचारमा समस्या परिरहेको छ । त्यस समस्यालाई बुझेर पेभाकुम नेम्बाङ समाज झापाको अगुवाईमा नेम्बाङ समाज युकेले ३१ जना सहयोगी मनकारीबाट जम्मा भएको ९९५ पौण्ड अर्थात एक लाख छपन्न हजार चार सय पचपन्न रुपैयाँ आज पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

समाजका अध्यक्ष चन्द्रवीर नेम्बाङ र प्रदेशसभा सदस्य झलकसिंह दर्लामीले मिर्गौलापीडित एलनका बुवाआमालाई एक कार्यक्रममाझ सो रकम संयुक्त रुपमा हस्तान्तरण गरे । कार्यक्रममा समाजका उपाध्यक्ष कमल नेम्बाङ, महासचिव दिलकुमार नेम्बाङ, सचिव नन्दहाङ नेम्बाङ, प्रवक्ता नेत्र नेम्बाङ , सदस्यहरु भीम नेम्बाङ, अभिषेक नेम्बाङ, नेम्बाङ वंशावली प्रकाशन समितिका सचिवालय सदस्य दुर्गा नेम्बाङ, समाजसेवी एल नेम्बाङ, राजु दर्नाल , भुवन राईलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्