बिर्तामोड ,पुष २१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले प्रधानमन्त्री के.पी. ओलीको प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदमको कांग्रेसले एकढिक्का भएर विरोध गर्ने बताएका छन् ।

नेपाली कांग्रेस झापाद्वारा मंगलबार आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता बुढाथोकीले कांग्रेस विधिको शासनको पक्षमा रहेकाले विधि मिचिदा रमिते बनेर बस्न नसक्ने स्पष्ट पारे ।
कम्युनिष्ट पार्टीको आन्तरिक झगडालाई लिएर प्रधानमन्त्री ओलीले सिङ्गो संविधानमाथि हमला गरेकोमा आपत्ति जनाउँदै पूर्वमन्त्री समेत रहेका बुढाथोकीले संसदको सामना गर्नबाट भागेर विघटन गर्ने ब्यक्तिले आमनिर्वाचन गराउनेमा विश्वास नभएको बताए ।
प्रत्येकजसो सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीका स्तरहीन अभिब्यक्तिले चुनाव गराउनभन्दा उत्तेजना र आवेग सिर्जना गरेर परिस्थितिलाई झन् जटिल बनाउने योजना बुनिएको नेता बुढाथोकीको भनाई छ ।

अर्का केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री सरिता प्रसाईले के.पी. ओलीको असंवैधानिक कार्यको आन्दोलनमार्फत सशक्त प्रतिरोध गर्दै सर्वोच्च अदालतले चुनावको पक्षमा फैसला दिए आन्दोलनलाई निर्वाचन तयारीमा रुपान्तरण गर्नुपर्नेमा जोड दिइन् ।
भातृ संघसंस्था र शुभेच्छुकहरुका कार्यक्रमहरुलाई जनस्तरमा पु¥याई आन्दोलनको माहौल बढाउनुपर्ने उनको भनाई थियो ।

नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको सभापतित्वमा सम्पन्न विस्तारित बैठकमा पाँचवटा निर्वाचन क्षेत्रका पदाधिकारी, १० वटा प्रदेश निर्वाचन क्षेत्रका पदाधिकारी, गाउँ–नगरपालिकाका पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बैठकले केन्द्रीय समितिको निर्देशन अनुसार संसद विघटनका विरुद्ध पुष २५ गते झापाका १० वटै प्रदेश निर्वाचन क्षेत्रहरुमा एकैपटक विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । जस अनुसार क्षेत्र नं–१ क को काँकरभिट्टा र ख को चारआली, क्षेत्र नं २ क को गरामनी र २ ख को खुदुनाबारी, क्षेत्र नं ३ को क भद्रपुर र ख को राजगढ, क्षेत्र नं ४ को ख शिवगञ्ज र क्षेत्र नं ५ ख को दमकमा विरोध प्रदर्शन र कोणसभा आयोजना गरिनेछ । त्यसैगरी क्षेत्र नं ४ को क र ५ को क मा भने क्षेत्रीय समितिले स्थान तय गर्ने बताइएको छ ।
त्यसैगरी आगामी माघ ३ गते १५ वटै पालिका र माघ ८ गते १३१ वटै वडाहरुमा विरोध प्रदर्शन र कोणसभा गरिने भएको छ । पालिका र वडातहको आन्दोलन तयारीका लागि जिल्ला समितिको निर्देशन अनुसार पुस २८ गते पालिकास्तरमा बैठक तोकिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्