दमक, पुष २१ । नेपाली कांग्रेस दमक नगर समितिले नगरको शिक्षा क्षेत्र अस्तव्यस्त बनेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

लामो समयदेखि नगरभित्रका बिद्यालयहरुमा कामचलाउ बिद्यालय व्यवस्थापन समिति रहेको र यसले बिद्यालय अस्तव्यस्त बनेको भन्दै कांग्रेसले मंगलबार नगरपालिकामा ज्ञापनपत्र बुझाएको पार्टीको शिक्षा विभाग संयोजक पर्शुराम रिजालले जानकारी दिए ।

कांग्रेस महासमिति सदस्य शेरबहादुर भट्टराई, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, जिल्ला सह–सचिव राजेन्द्र भण्डारी, महाधिवेशन प्रतिनिधि घनेन्द्रराज योङया, नगरसभापति रोशन बिष्टसहितको प्रतिनिधिमण्डलले दमक नगरपालिका प्रमुख रोमनाथ ओली, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिना, शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेलाई ज्ञापनपत्र बुझाएको उनले बताए । ज्ञापनपत्र बुझाउँदै कांग्रेस महासमिति सदस्य भट्टराईले शिक्षा क्षेत्रलाई सत्ताको उन्मादबाट नभई सहकार्यबाट अगाडि बढाउनु पर्नेमा जोड दिए । नगरपालिकाले बिद्यालयलाई राजनीतिको थलो बनाएको भन्दै उनले विगतमा कांग्रेससंग भएका सहमतिहरु कार्यान्वयन गर्न आग्रहसमेत गरे ।
सो अवसरमा नगर प्रमुख ओलीले नेपाली कांग्रेसको ध्यानाकर्षणलाई महसुस गर्दै चाँडै प्रक्रियावाट बिद्यालय व्यवस्थापन समिति गठन गरिने जानकारी दिए । उनले अब बन्ने बिद्यालय व्यवस्थापन समितिमा समाजसेवी, चन्दादाता, शिक्षाप्रेमी र स्थानीय राजनीतिक दलहरुको सहभागिता रहने प्रतिबद्धतासमेत जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्