भद्रपुर, पुष २१ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले भद्रपुर नगरक्षेत्रका संस्थागत विद्यालयहरूले विभिन्न बहाना बनाएर शिक्षक कर्मचारीहरूको तलब नदिएकोप्रति खेद प्रस्ताव पारित गर्दै माघ ५ गतेबाट अनिश्चितकालिन शैक्षिक हड्ताल गर्ने निर्णय गरेको छ ।
युनियन नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा बसेको बैठकले शैक्षिक वर्ष २०७७ सालको ९ महिना पूरा हुन लाग्दासमेत शिक्षक, कर्मचारी, चालक तथा सहचालकहरूलाई पूर्ण पारिश्रमिक नदिइ विद्यालय सञ्चालकहरूले झारो टार्ने प्रयास गरिरहेकोप्रति खेद प्रकट गर्दै अन्यायविरूद्ध लड्न विद्यालय बन्दजस्तो कठोर कदम चाल्न बाध्य हुने निर्णय गरेको हो ।
बैठकले २०७७ जेठ ५ गते भद्रपुर नगरपालिकाको कार्यालयमा प्याब्सन, एन प्याब्सन भद्रपुर नगर समितिले संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिसित गरेको सहमति २०७७ पौषको अन्तिम सातासम्म आइपुग्दा पूर्ण रूपमा कार्यान्वयनको चरणमा पुग्न नसकेकोप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।