झापा, पुष २२ । देशभरिका ३० प्रहरी उपरीक्षक र ६९ प्रहरी नायव उपरीक्षकको सरुवा भएको छ ।यसक्रममा झापाका प्रहरी उपरीक्षकसहित तीनजना प्रहरी नायव उपरीक्षक पनि सरुवामा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला महानगरीय अपराध महाशाखा काठमाडौं सरुवा भएका छन् । उनको ठाउँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय , प्रहरी महाशाखा टंगालबाट सानुराम भट्टराई आउने भएका छन् । कोइराला गत वर्ष पुष ५ गते झापाको प्रहरी उपरीक्षक भएर आएका थिए। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा प्रहरीको नेतृत्व सम्हाल्न आएका थिए। बिर्तामोडको प्रहरी नायव उपरीक्षकको जिम्मेवारी सम्हालेर उनी त्रिभुवन विमानस्थल गएका थिए। सरुवा नियमित प्रक्रिया भएको कोइरालाले बताएका छन्। कोइराला झापामा लोकप्रियता कमाएका उच्च प्रहरी अधिकृत हुन्।
त्यस्तै बिर्तामोड , काँकडभिट्टा र दमकका प्रहरी नायव उपरीक्षकहरुको पनि सरुवा भएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डित गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा जाने भएका छन् । उनको ठाउँमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजबाट नवराज कार्की आउने भएका छन् । त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजाल जिल्ला प्रहरी कार्यालय दाङ सरुवा भएका छन् । रिजालले विवादमा नपरी बिर्तामोडमा रहेर राम्रो काम गरेका थिए । उनको ठाउँमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगंजबाट सन्तोष आचार्य आउने भएका छन् । त्यसैगरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगंज सरुवा भएका छन् । उनको ठाउँमा जिम्मेवारी सम्हाल्न सुनिल दाहाल १ नं प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङबाट आउने भएका छन् । प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले पुष २१ गते ३० प्रहरी उपरीक्षक र ६९ प्रहरी नायव उपरीक्षकको सरुवा गर्ने निर्णय गरेका हुन् । माघ महिनादेखिको तलब , भत्तासमेत हाल भएको दरबन्दीबाट खान पाउनेगरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्