भद्रपुर, पुुष २२ । भद्रपुरका सामाजिक व्यक्तित्व रमेश पोखरेलको परिवारले आफ्ना दिवंगत पिता शिवप्रसाद पोखरेलको वार्षिक पुण्यतिथिको दिन पारेर विभिन्न सामाजिक संघसंस्थालाई सहयोग प्रदान गरेका छन् ।

पोखरेल परिवारले नारी सञ्चार गृह झापासहित बिर्तामोड र भद्रपुरका ४ वटा सामाजिक संघसंस्थालाई सहयोग प्रदान गरेका हुन् । भद्रपुरस्थित कृष्ण द्वैपायन वेद विद्याश्रम गुरुकुलमा अक्षयकोष स्थापनाका लागि ५० हजार रुपैयाँ संस्थाका अध्यक्ष राजेन्द्र चापागाँईलाई प्रदान गरिएको कार्यक्रममा चन्द्रगढीस्थित कालीमन्दिर निर्माण समितिलाई निर्माण सहयोगार्थ २५ हजार, झापाली महिलाहरुको छाता संगठन नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष र बहुभाषिक बहुसांस्कृतिक क्षितिज नाट्य समूहद्वारा निर्माणाधिन नाटक घरलाई ११÷११ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

गोविन्द पोखरेलको अध्यक्षता तथा बालानन्द दुग्ध पोखरेल प्रतिष्ठानका अध्यक्ष राजकुमार पोखरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पोखरेलले रमेश पोखरेलका परिवारले गरेको कामले समाजलाई सामथ्र्यवान बनाउन सहयोग पुग्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरीले बुबाले देखाएको बाटोमा हिड्ने पोखरेल परिवारको सहयोगले समाजमा सत्कर्ममा लाग्न प्रेरणा मिल्ने धारणा राखे ।
नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटीले संस्थाले गरेको सहयोगले दीर्घकालिन महत्व राख्ने बताउँदै पोखरेल परिवारलाई धन्यवाद ज्ञापन गरिन् । त्यसैगरी क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पितले पूर्वीय दर्शनअनुसार पितापुर्खाले देखाएको बाटो हिड्नु एक असल सन्ततिको कर्तव्य भएको बताए ।

त्यसैगरी दुई करोडको अक्षय कोष स्थापनाको लक्ष्य राखेको जानकारी गराउँदै कृष्ण द्वैपायन वेद विद्याश्रम गुरुकुलका अध्यक्ष राजेन्द्र चापागाँईले दाताले पितृको नाममा स्थापना गरेको अक्षयकोषबाट प्राप्त रकमबाट पितृको पुण्यतिथिका दिन बटुकलाई भोजन गराउने जानकारी दिए । त्यस्तै कालीमन्दिर निर्माण समितिका अध्यक्ष भीम पौडेलले पूर्वकै नमूनाका रुपमा बनाउन लागिएको कालीमन्दिरको ऐतिहासिकता, वर्तमान र मन्दिर निर्माणको भावी लक्ष्यबारे अवगत गराएका थिए ।

विष्णु पोखरेलले सञ्चालन गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै दाता रमेश पोखरेलले आफ्ना पिताले समाजमा गर्छु भनेर अधुरा छोडेर गएका कामहरुलाई पुर्णता दिने कार्यको प्रारम्भस्वरुप सहयोग रकम हस्तान्तरण गरिएको बताए । सोही अवसरमा पूर्व संकल्प अनुसार बालानन्द दुग्ध पोखरेल प्रतिष्ठानकाका अध्यक्ष राजकुमार पोखरेललाई एकलाख ५० हजार बराबरको बैंक भौचर प्रदान गर्नुका साथै पाथीभरा देवीलाई समेत भेटीस्वरुप पाँचहजार रुपैयाँ छुट्याएको जानकारी दिए ।
सो अवसरमा पोखरेलकी श्रीमती विमला पोखरेल, भाउजु तथा भतिजाहरुसहित छर–छिमेकी र आफन्तको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्