दमक, पुष २३ । दमक नगरपालिका वडा नं ३ का वडाध्यक्ष नविन बरालसहितका जनप्रतिनिधिहरुले आफ्नो पारिश्रमिक तथा प्राप्त सेवा सुविधावापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् ।

वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा लामो समयदेखि बसोबास गर्दै आएकी ९४ बर्षिया धनमाया लामिछानेसहितको परिवारका लागि वडाध्यक्ष र वडा सदस्यहरुले तीन कोठाको पक्की घर बनाएर हस्तान्तरण गरेका हुन ।
वडाध्यक्ष बरालले स्थानीयबासी र वडाका अन्य जनप्रतिनिधिहरुको रोहबरमा बुधबार लामिछानेको परिवारलाई साँचो प्रदान गरी घर हस्तान्तरण गरे । उनले पीडित लामिछानेको परिवारमा रहेका अन्य सदस्यहरु समेत शारीरिक रुपमा अशक्त रहेकाले सहाराबिहीनताको महसुस गर्न नपरोस् भन्ने उद्धेश्यले नगरपालिकाको ‘कोही एक्लो छैन ’ भन्ने अभियानलाई सार्थक बनाउन आफूहरुले सो घर निर्माण गरिदिएको बताए ।

लामिछाने परिवारको आफनै स्वामित्वमा रहेको करिब १० धुर जमिनमा जनप्रतिनिधिहरुको ४ लाख १५ हजार रुपैयाँको लागतमा घर निर्माण सामग्री जुटाएको र निर्माण व्यवसायी सुमन काफलेले ६५ हजारभन्दा बढी मूल्य बराबरको प्राविधिक खर्च उपलब्ध गराएपछि २० दिन लगाएर घर निर्माण गरिएको वडा सदस्य सुकदेव लुइँटेलले जानकारी दिए ।

पाँचथर पुख्र्याैली घर भएका लामिछानेको परिवार करिब ४० बर्षदेखि दमकमा बसोबास गर्दै आएको हो । ती वृद्धाकी पति भीमनारायण स–साना छोराछोरी काखमा हुँदै विते । तीन छोरामध्ये जेठो छोरा अघनबहादुर रोजगारीका लागि भारततिर हानिएको धेरै बर्ष भईसक्यो , परिवारसंग खोजखबर छैन् उनको । बुबाको निधनपछि दुखमा परेको परिवारको भविष्यका लागि भनेर भारततिर गएका उनी अहिलेसम्म एकपटक घर फर्किएका छैनन् । ‘म¥यो, बाँच्यो कहाँ, छ छैन अहिलेसम्म खोजखबर आएको छैन । देख्ने सुन्नेहरु पनि कोही छैनन ’ विलौना गर्दे वृद्धा धनमायाले आफनो दुख सुनाईन् ।

उनका अनुसार माइलो छोरा हरिकृष्णको ७ बर्ष अघि नै मृत्यु भयो । कान्छो छोरा अभिचन्द्रको पनि शारीरिक अशक्तताले अहिले आफन्तको शरणमा छन् । माइली बुहारी इन्दिरा र शारीरिक रुपमा अशक्त एक छोरीका साथमा छन् । अरु तीन सवल छोरीहरु भने घरजममा छन् । सरकारले दिने सामाजिक सुरक्षा भत्ताको माध्यमबाट नै ६ जनाको परिवारको गुजारा चलाउनु पर्ने बाध्यता रहेको पीडित परिवारको दुखेसो छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्