झापा , पुष २४ । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई संविधान पठाएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्रको साथमा संविधानको पुस्तक पनि पठाएका हुन् । प्रचण्ड–माधव पक्षको नेकपाले प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा क्षमा याचना गरी गल्ती सच्याउन पनि आग्रह गरेका छन्। प्रचण्ड–माधव नेकपाको समूहले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई पनि विरोधपत्रसँगै संविधान बुझाएका छन्।

नेकपाको समूह जुलुसहित जिल्ला प्रशासन कार्यालय भद्रपुर पुगेको थियो। । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीविरुद्ध संघर्ष चर्काउन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रचण्ड– माधव नेपाल समूहले जिल्लामा संघर्ष समिति बनाएको छ । संघर्ष समितिका संयोजक रविन कोइराला ,सहसंयोजक धर्मशिला चापागाई र सचिव विजय साम्पाङले विरोधपत्रमा हस्ताक्षर गरेका थिए । केन्द्रले तय गरेको आन्दोलनबमोजिम जिल्ला तहमा संघर्ष समिति निर्माण भइसकेपछि अब पालिका ,वडा र टोल–टोलमा संघर्ष समिति गठन गर्ने संयोजक कोइरालाले बताए । उनले पुष २५ गते जिल्लास्तरीय समितिको बैठक बसेर टोल–टोलसम्म पुगेर संघर्ष समिति बनाउनका लागि कार्यविभाजन गरिने जानकारी दिए ।
संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै नेकपा (दाहाल–नेपाल) समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम पुष १८ गते सार्वजनिक गरेको हो । जसअन्तर्गत पुष २० देखि माघ २३ गतेसम्म प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, गाउँ गाउँमा कालो झन्डा गाड्ने, सरोकारवाला पक्षसँग अन्तरक्रिया, प्रदर्शनलगायतका कार्यक्रम रहेका छन् ।

पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि नेकपा विभाजन भएको थियो भने दाहाल–नेपाल समूहले आन्दोलन गर्दै आएको छ । सो समूहले पुष २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने ,पुष २३ गते नागरिक समाजसँग अन्तरक्रिया गर्ने कार्यक्रम राखेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्