बिर्तामोड ,पुष २५ । कृषि उपज थोक बजार बिर्तामोडको बजार ब्यबस्थापन समितिको सदस्यमा तीनजना निर्वाचित भएका छन् ।

कृषि उपज बजार ब्यबस्थापन समितिको सदस्य पदमा कृषक समूहतर्फबाट बिर्तामोडका कमलप्रसाद पौड्याल, कनकाईका हरि सिलवाल र महिला सदस्यमा अर्जुनधाराकी बृन्दा लुईटेल निर्वाचित भएका हुन् । आज ब्यापारीहरुमध्येबाट ३ जना सदस्य निर्वाचित हुनेछन् । त्यसपछि बजार ब्यबस्थापन समितिले पूर्णता पाउने छ । समितिमा बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्र लिङ्देन पदेन सदस्य रहनेछन् ।
बिर्तामोड, मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, बाह्रदशी, हल्दिबारी र भद्रपुरका किसानले तीन जना किसान तर्फकै सदस्य छान्न पाउने व्यवस्था रहेको छ । यस्तै, ३ जना व्यवसायी सदस्य छान्नका लागि कषि थोकमा नवीकरण गरिसकेका २ सय ५६ जनाले मतदान गर्नेछन् । दश वर्षपछि कृषि उपज थोक बजार बिर्तामोडमा निर्वाचन भएको हो ।