भद्रपुर , पुष २५ । विगत एक महिनादेखि झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भद्रपुर २ स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई राहत वितरण गरेका छन् ।

विद्यालयका ६५ जना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो लुगा र पोषिलो खानेकुरा वितरण गरिएको हो । हिमानी कोषबाट वितरित सो राहत वितरण गर्न हिमानी कोषकी संरक्षक पूर्व युवराज्ञी हिमानी शाह पनि सहभागी थिइन् । कार्यक्रममा पूर्व युवराज पारसका छोराछोरी पनि उपस्थित थिए । त्यस विद्यालयका विद्यार्थीहरुलाई अब लगातार ३ वर्ष हिमानी कोषले पोषिलो खानेकुरा वितरण गर्ने जनाइएको छ । त्यस्तै कार्यक्रममा ३०जना बृद्धबृद्धालाई पनि पोषिलो खानेकुरा प्रदान गरिएको थियो । कार्यक्रममा नवराज पनेरु र राधा कार्कीले मन्तब्य राखेका थिए ।

पूर्व राजा कार्यक्रमस्थलमा प्रवेश गर्दैगर्दा उनका समर्थकहरुले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ , जनता आऊ राजा ल्याऊ ,श्री ५ महाराजाधिराजको जय होस् ’जस्ता नारा लगाएका थिए । कार्यक्रममा अधिकांश राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । पूर्व राजा ज्ञानेन्द्र गत मंसिर २६ गतेदेखि दमकस्थित निवासमा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्