भद्रपुर ,पुष २५ । विवादका बीच राजवंशी समाज विकास समिति भद्रपुर नगर समितिले भव्य रुपमा भक्का दिवस मनाएको छ ।

पुष २५ कि पुष २९ गते भक्का दिवस भनेर विवाद चलिरहँदा राजवंशी समाज विकास समिति भद्रपुरले शनिबार भक्का दिवस मनाएको हो । प्रदेश साँसद पूर्णसिंह राजवंशीले जातीय परिकार भक्का पकाएर दिवसको उद्घाटन गरे ।उनले परापूर्वकालदेखि चल्दै आएको भक्कालाई जोगाउँदै त्यसलाई आयआर्जनको बाटो बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ , उपप्रमुख चन्द्रा श्रेष्ठ , कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशी, राजवंशी समाज विकास समितिका पूर्व केन्द्रीय उपाध्यक्ष भरत राजवंशी , संस्थापक सचिव तुलाराम राजवंशी , संस्थापक सदस्य फाल्गुनी राजवंशी , पूर्व जिल्ला अध्यक्षहरु पुकारचन्द्र राजवंशी , मनोज राजवंशी , जिल्ला उपाध्यक्ष ममता ताजपुरिया राजवंशी, बिर्तामोड ८ का वडा सदस्य गंगा राजवंशीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

औचित्यमाथि प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष नगर समिति अध्यक्ष हंशधर राजवंशीले दुईवटा संस्थाले दुईवटा मितिमा दिवस मनाएर विवाद गर्नुभन्दा एउटै मितिलाई घोषणा गर्न आफूहरु तयार रहेको बताए ।उनले अहिले कसैलाई पनि जातबाट गिराउने र जातमा उठाउने अधिकार नभएको बताए । भक्का दिवसको आधिकारिक घोषणा अरुले नभएर राजवंशी समाज विकास समितिले नै गर्नुपर्नेमा उनले जोड दिए । भद्रपुर ४ को वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहभागीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।सहभागीहरुलाई भक्का खुवाउन एक क्वीन्टल चामलको पीठो तयार गरिएको आर्थिक समितिका संयोजक सातालु राजवंशीले बताए । १० जना महिलाले भक्का पकाएर सहभागीहरुलाई खुवाएका थिए । कार्यक्रममा आङ्राधुम्ना नाचगाअन कल्चर टीमले पाचाली , नटुवा , कोच गायक विन्दास राजवंशीले र्याप गीत प्रतुत गरेका थिए । राजवंशी समाज विकास समितिका संस्थापक अध्यक्ष फूलसिंह राजवंशीलाई प्रमुख अतिथि बनाएर टुंगो गरिसकेको अबस्थामा उनलाई कार्यक्रममा आउन नदिइएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्