बिर्तामोड ,पुष २६ । सरुवा भएर जान लागेका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला र प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजाललाई विदाइ गर्ने क्रम जारी रहेको छ ।

राम्रो काम गरेवापत उनीहरुलाई विभिन्न संघसंस्था र कार्यालयहरुले विदाइ गरिरहेका छन् । यसक्रममा बिर्तामोड नगरपालिकाको ३ नं वडा कार्यालय र प्रहरी चौकी बिर्ताबजारले आज संयुक्तरुपमा विदाइ कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रमका वक्ताहरुले ती दुवै प्रहरी अधिकारीहरुको कार्यकुशलताको खुलेर प्रशंसा गर्दै आगामी दिनको लागि शुभकामना दिएका थिए । बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी,पूर्व सांसद डिल्लीप्रसाद सिटौलालगायतले बोल्दै प्रहरी उपरीक्षक कोइराला र प्रहरी नायव उपरीक्षक रिजालले सहज ढंगले गरेको कार्यसम्पादनको प्रशंसा गरेका थिए । विदाइ भएर जाने दुवै प्रहरी अधिकारीहरुले झापा जिल्लामा कार्यरत रहँदा सबै क्षेत्रबाट साथ सहयोग पाएको बताए । न्यू कन्चनजंघा टोल विकास संस्थाका अध्यक्ष टीका खरेलले स्वागत गरेको कार्यक्रमको संचालन वडा सचिव भीम अधिकारीले गरेका थिए । उनीहरुलाई कदरपत्र र मायाको चिनो सहित विदाइ गरिएको वडा सचिव अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कोइराला महानगरीय अपराध महाशाखा काठमाडौं सरुवा भएका छन् । उनको ठाउँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय , प्रहरी महाशाखा टंगालबाट सानुराम भट्टराई आउने भएका छन् । कोइराला गत वर्ष पुष ५ गते झापाको प्रहरी उपरीक्षक भएर आएका थिए। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा प्रहरीको नेतृत्व सम्हाल्न आएका थिए। बिर्तामोडको प्रहरी नायव उपरीक्षकको जिम्मेवारी सम्हालेर उनी त्रिभुवन विमानस्थल गएका थिए। सरुवा नियमित प्रक्रिया भएको कोइरालाले बताएका छन्। कोइराला झापामा लोकप्रियता कमाएका उच्च प्रहरी अधिकृत हुन्।
त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक रिजाल जिल्ला प्रहरी कार्यालय दाङ सरुवा भएका छन् । रिजालले विवादमा नपरी बिर्तामोडमा रहेर राम्रो काम गरेका थिए । उनको ठाउँमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगंजबाट सन्तोष आचार्य आउने भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्