बिर्तामोड , पुष २६ । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको विरोधमा अनेरास्ववियू झापाले आज बिर्तामोडमा राँगागाडासहित प्रदर्शन गरेको छ ।

बिर्तामोडको पश्चिम बस स्टेन्डबाट शुरु भएको र्यालीले मुक्ति चोकसहित बजार परिक्रमा गरेको थियो । ¥यालीका सहभागीहरुले ‘केपी तिम्रो पाराले दुख पायो गाडाले , केपी तिम्रो पाराले दुख पायो साराले’जस्ता नारा लगाएका थिए । अनेरास्ववियूका जिल्ला अध्यक्ष अनिल सुवेदीले संयोजन गरेको कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष तथा नेकपाका प्रदेश कमिटी सदस्य भुपाल सापकोटा , जिल्ला कार्यालय सदस्य अरुण श्रेष्ठ , युवाका सहसंयोजक दधिराम रिमाललगायतको सहभागिता रहेको थियो । यसअघि हिजो नेपाली कांगे्रसले प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा विरोध गर्ने क्रममा दमकमा सांकेतिक विरोधस्वरुप राँगागाडासहितको विरोध र्याली र कोणसभा गरेको थियो । प्रधानमन्त्रीको संसद विघटनको निर्णय र भ्रष्टाचारमा संलग्नको संरक्षणले प्रधानमन्त्रीको समृद्धिको सपना बयलगाडा यात्राजस्तै भएको सांकेतिक अर्थसहित राँगागाडा ¥याली गरिएको बताइएको छ । ओलीले प्रधानमन्त्री हुनुअगावै ‘संविधानसभाबाट संविधान बनाउने कार्य बयलगाडामा अमेरिका जानुजस्तै हो’ भनी दिएको अभिब्यक्तिको ब्यङ्गस्वरुप बयलगाडा र्याली निकालेको आयोजकले बताएका छन् । सडक संघर्षमा उत्रिएका दलहरुले विरोधका नयाँनयाँ तरिकाहरु अपनाउँदै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्