भद्रपुर , पुष २७ । झापाको सदरमुकाम चन्द्रगढीस्थित विरेन्द्र नमुना क्याम्पसले गत २०७६ सालको बार्षिक परिक्षामा उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान गर्दै १२ औं बार्षिक क्याम्पससभा सम्पन्न गरेको छ ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा क्याम्पस प्रांगणमा सोमबार आयोजित सभामा क्याम्पसको बार्षिक प्रतिवेदन क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज पोखरेलले प्रस्तुत गरेका थिए । उनंले नवनिर्मित क्याम्पस भवन निर्माणका बारेमा जानकारी गराउँदै क्याम्पसका सामाजिक तथा भौतिक गतिविधिका बारेमा प्रकाश पारेका थिए ।
सभामा बीएड ,बीबीएसलगायतका विभिन्न संकायको बार्र्षिक परिक्षामा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरु मनोज खवास, जेसीका दुलाल, सन्जु किस्कु ,सरितादेवी बानिया , विर्सिका लामिछाने, लाजिमा लिम्बु ,उमेशकुमार गणेशलगायत १० विद्यार्थीहरुलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ,नेपाली कांग्रेस झापा क्षेत्र नं ३ का क्षेत्रीय सभापति गणेश पोखरेल ,नेकपा भद्रपुर नगर ईन्चार्ज शिवकुमार राजभण्डारी ,वडा नं ७ का वडा अध्यक्ष विनोदकुमार पोखरेललगायतले मन्तव्य राखेका थिए । पोखरेलको अध्यक्षता तथा सहायक क्याम्पस प्रमुख भक्त कार्कीको संचालनमा सम्पन्न सभाको स्वागत मन्तव्य क्याम्पस प्रमुख विवेक पोखरेलले राखेका थिए । २०६३ सालदेखि विरेन्द्र माविमा स्थापना भई पठनपाठन संचालन गर्दै आएको क्याम्पसले गत पौष १६ गतेबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाको छेऊमा रहेको ७ कठ्ठा जमिनमा निर्मित आफ्नै २ तले भवनबाट पठनपाठन शुरु गरेको छ । हाल यस क्याम्पसमा बीबीएस र बीएडलगायतका संकायमा गरी ६ सय ८८ जना विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।



