झापा , पुष २७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका युवा नेता महेश बस्नेतले सरकारको विरोध गर्नेहरुको प्रतिकारमा साइवर सेना तयार गर्न आव्हान गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साइबर सेनाले जस्तै व्यवहार गर्न थालेको आरोप विपक्षीहरुबाट लागिरहेका बेला नेकपाका केन्द्रीय सदस्य बस्नेतले युवाहरुलाई साइबर सेना बन्न आव्हान गरेका हुन् । राष्ट्रिय युवा संघ नेपाल झापाले मेचीनगरको धुलाबारीमा आयोजना गरेको बृहत युवा भेलालाई प्रमुख अतिथिको रुपमा संबोधन गर्दै बस्नेतले अहिलेको सरकारले गरेको कामको विरोधमा आमप्रतिगामीहरु लागेको भन्दै त्यसको सशक्त प्रतिकारमा उत्रिन युवाहरुलाई आव्हान गरे ।
उनले आफ्नो पक्षलाई सूर्य चिन्हमा नैसर्गिक अधिकार भएको भन्दै सूर्य चिन्हका लागि जस्तोसुकै वलिदानी दिन तयार रहेको बताए । आफ्नै पार्टीका पूर्व अध्यक्षहरु माधवकुमार नेपाल र झलनाथ खनालले कम्युनिष्ट आन्दोलनको इतिहास बिर्सेको भन्दै एमालेको चुनाव चिन्ह सूर्यमा अर्का अध्यक्ष प्रचण्डले कुदृष्टि लगाइरहेको आरोप लगाए । नेता बस्नेतले अन्य दलहरुले आन्दोलनमा जुटेर सडक संघर्ष गरिरहेको भएपनि उनीहरु भित्रीरुपमा निर्वाचनमा जुटिरहेको हुँदा आफ्ना पक्षीय नेता कार्यकर्तालाई निर्वाचनमा लाग्न आव्हान गरे । अहिले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन प्रचण्ड–नेपाल समूह लागेको आरोप लगाउँदै नेता बस्नेतले आन्दोलनका नाममा अवरोध गर्ने हर्कत गरे युवा संघले प्रतिकार गर्ने चेतावनी दिए । कार्यक्रममा केन्द्रीय सदस्य तथा १ नं प्रदेश अध्यक्ष देवराज घिमिरे , केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष चिन्तन पाठक , जिल्ला कमिटी सचिवालय सदस्य तथा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उपे्रती , युवा संघका पूर्व केन्द्रीय सचिव राजु कार्कीलगायतले बोलेका थिए । कार्यक्रमको अध्यक्षता युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले गरेका थिए ।
त्यस्तै युवा नेता बस्नेतले आजै हल्दीबारीमा आयोजित कार्यक्रममा बोल्दै आफ्नै पार्टीका नेताहरु घेरावन्दी गर्ने काममा लागेको भन्दै त्यसको सशक्त प्रतिकारमा उत्रिन आव्हान गरे । उनले आफूहरुको समूह संस्थापन भएको भन्दै सूर्य चिन्ह आफूहरुकै हुने दावी गरे । त्यस्तै केन्द्रीय सदस्य तथा १ नं प्रदेश अध्यक्ष देवराज घिमिरेले प्रचण्ड , माधव नेपाल र झलनाथ खनाल पद , प्रतिष्ठा र परिवारका लागि लागेको आरोप लगाए । उनले त्यो समूहले आफ्ना दोष लुकाएर सबै दोष सरकारमाथि थोपरेको दावी गरे । मदन भण्डारी फाउन्डेशन हल्दीबारीले भेलागुडीमा आयोजना गरेको वनभोज कार्यक्रममा पनि बस्नेत सहभागी भए । मदन भण्डारी फाउन्डेशन हल्दीबारीका अध्यक्ष मोहनचन्द्र रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेता कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको युवा संघ झापाका कोषाध्यक्ष एवं मदन भण्डारी फाउन्डेशन हल्दीबारीका सचिव सागर पोर्तेलले बताए ।



