झापा, पुष २७ । २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

२९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाएको हो ।
१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ। उनले त्यसबेला बाइसे, चौविसेलगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए। यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।

२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२–०६३ सालको आन्दोलनपछि सरकारीस्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो। सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने हरेक वर्ष हुने गरेका छन् ।

यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले बिर्तामोडमा विचार गोष्ठी आयोजना गरेको थियो । कार्यक्रममा पार्टीका महामन्त्री एवं विघटित प्रतिनिधिसभा सांसद राजेन्द्र लिङ्देन , प्राध्यापक गणेश निरौला , दमक क्याम्पसका सहायक क्याम्पस प्रमुख भवकृष्ण खतिवडालगायतले पृथ्वीनारयण शाहको जीवनी र उनको दिव्योपदेशका वारेमा चर्चा गरेका थिए ।राप्रपाका जिल्ला अध्यक्ष अम्बर विष्टको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव केशव ओझाले गरेका थिए । पृथ्वी जयन्तीका अवसरमा राप्रपाको हल्दीबारी र कचनकवल गाउँ समितिले पनि कार्यक्रम गरेका थिए । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा झापाको कचनकवल र हल्दिबारी गाउँपालिकाले स्थानीय तहमा सोमबार सार्वजनिक बिदा दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्