मेलबर्न , पुष २७ । २९९ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अष्ट्रेलियामा भव्यताका साथ प्रवासी नेपाली एकता समाजले मनाएको छ ।

बाक्लो नेपाली बस्ती भएको अर्बनमा सरकारी मापदण्ड र निर्देशन अनुसार यो बर्ष सफलतापूर्वक २९९ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो ।
प्रबासी नेपाली एकता समाजले सिड्नी, ऐडेलेड, मेल्बर्न, ब्रिस्बने, डब्बो, अर्वनपार्कमा सोमबार आयोजना गरेको पृथ्वी जयन्ती तथा एकता दिवसमा बिहानदेखि साँझसम्म पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेर राष्ट्रिय गानका साथ मनाइएको थियो ।नेपाल एकीकरणका नायक तथा नेपाली राष्ट्रियताका प्रणेता पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई ३५ वर्षदेखि अष्ट्रेलियामा मनाउँदै आएको आयोजकले जानकारी दिए ।

औपचारिक कार्यक्रमपछि सम्मानको फूल चढाउन आयोजना गरिएको कार्यक्रममा स्थानीय अर्वन नेपाली अभिभावक समाजले दिनभर नै राष्ट्रिय गान बजाएर माहौललाई निकै मनमोहक बनाएका थिए। स्थानीय नेपाली अभिभावकले नेपाली बाजा मादल, हार्मोनियमसहित उपस्थित भएर राष्ट्रियता झल्कने विविध गीत संगीत पस्केका थिए।
फुटाउनेको बिगबिगी भइरहेको बेला खण्डखण्ड राज्यलाई जोडेर अखण्ड नेपाल बनाउने राष्ट्रिय एकीकरणका नायकप्रति श्रद्धासुमन अर्पण गर्नु महत्वको विषय भएको अग्रज सञ्चारकर्मी डिल्ली ढकालले बताए।
शाहको तस्वीरमा फूलगुच्छा चढाएपछि ढकालले भने, ‘इतिहास थिएन भने वर्तमानको कल्पना पनि गर्न सकिदैनथ्यो, त्यसैले पनि विगतलाई सम्मान गर्न सक्नुपर्छ।’‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहबाट कल्पना र स्थापना गरिबक्सेको मुलुकको एक अंश हुन पाउनु हाम्रो अहोभाग्य हो! हजुरलाई मेरो नमन! ’प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष अजय राजवंशीले भने।

करिब साढे दुई घन्टाको ट्रेन यात्रापछि ओलंघनबाट सिड्नीमा पृथ्वी जयन्ती मनाउन आएका बरिष्ठ सल्लाहकार डा.रामकृष्ण निरौलाले गर्विलो इतिहास बोकेको हाम्रो देश र त्यसमाथि पनि नेपाल राज्य निर्माण गर्ने शाह सम्मानको हकदार भएकोमा कुनै दुईमत नरहेको बताए।
नेपाली हामी रहन्थ्यौं कहाँ नेपाल नै नरहे भन्ने गीत सम्झदै डा. निरौलाले भने, ‘जसले आज हामीलाई संसारमा चिनाएको छ उसलाई संसारको जुनै कुनामा भए पनि सम्मान गर्नुपर्छ भनेर आफू टाढैबाट भए पनि कार्यक्रममा सहभागी जनाएको हो।’
कार्यक्रममा सहभागी एनआरएनका उपाध्यक्ष देव गुरूङ, नेपाली समाजका अगुवा दिनेश जोशी, युवा अभियन्ता प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष अजय राजवंशी, सरोज पाण्डे, विजय पौडेल, रोशन खतिवडा, राजु गिरीलगायतको उपस्थिति थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्