भद्रपुर, पुष २८ । सामुदायिक विद्यालयमा अध्ययनरत भद्रपुर नगरपालिका ४ नं वडाभरिका विपन्न विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको छ ।

भद्रपुर नगरपालिका ४ नं वडा कार्यालयले एक कार्यक्रम गरी वडाभरिका विद्यार्थीहरुलाई जाडोको लागि स्वीटर वितरण गरेको हो । भद्रपुर ४ मा ३ वटा आधारभूत विद्यालय रहेका छन् । ती विद्यालयका ४३५ जना विद्यार्थीहरुलाई एक कार्यक्रमकाबीच स्वीटर वितरण गरिएको भद्रपुर ४ का वडाध्यक्ष हंशधर राजवंशीले बताए । उनले वडाको बजेटबाट विद्यार्थीहरुलाई स्वीटर दिइएको जानकारी दिए । भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपाका शिवराज राजभण्डारी , नेपाली कांगे्रसका गणेश पोखरेल , राष्ट्रिय प्रजातन्त्र पार्टीका नवराज पनेरु, भद्रपुर ७ का वडाध्यक्ष विनोद पोखरेललगायतले बोलेका थिए ।

संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुको पोशाकमा एकरुपता ल्याउन भद्रपुर ४ नं वडा कार्यालयले वर्षेनि सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गर्दै आएको छ । ‘सबै विद्यार्थीहरुको पोशाकमा एकरुपता , बालमनोविज्ञानको सिर्जनशील ऊर्जा ’भन्ने नाराका साथ संस्थागत र सामुदायिक विद्यालयको पोशाक एउटै बनाइएको वडाध्यक्ष राजवंशीले बताए । यस वर्ष कोरोना संक्रमणका कारण विद्यालय नलागेपछि वडाको बजेटले स्वीटर वितरण गरिएको उनले जानकारी दिए ।साविक महेशपुर गाविस हाल भद्रपुर ४ बनेको हो । त्यस वडाको सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु राजवंशी , सन्थाल समुदायका विपन्न वर्गका रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्