बिर्तामोड,पुष २९ । झापा जिल्ला सहकारी संघको २४ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

साधारणसभाको राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले उद्घाटन गरिन् ।
कार्यक्रमका अध्यक्ष संघका अध्यक्ष गणेश ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संघमा २०७७ असार मसान्तसम्ममा ५०७ संघसंस्था आवद्ध रहेको र शेयर पूँजी २ करोड ६८ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको उल्लेख छ । संघमा हाल १९ करोड ६२ लाख ९ हजार २७ रुपैयाँ निक्षेप र कोष हिसाब ७ करोड ९५ लाख ९२ हजार ४५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्यक्ष ढकालले संघलाई व्यावसायिक क्षेत्रमा संलग्न गराउँदै वर्षमा एक करोड रुपैयाँ आम्दानी गर्ने योजना रहेको जानकारी दिए ।
उक्त अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि मल्लले नेपालको सहकारीमा ५६५ महिलाको सहभागिता रहेकोले सहकारीमा आवद्ध भएर नेपाली महिलाहरुले व्यावसायिक क्षेत्रमा पनि आफूहरुलाई अब्बल सावित गर्न सफल भएको उल्लेख गरिन् । मल्लले नयाँ प्रविधिहरु सहकारीमा ल्याउनसके नेपालको अर्थतन्त्र मजबुत हुनुका साथै देश सम्वृद्धिको बाटोतर्फ लम्कने जिकिर गरिन् ।
सो अवसरमा राष्ट्रिय सहकारी बैंकका लेखा संयोजक लक्ष्मी उप्रेती, नेफ्स्कुनका केन्द्रीय सदस्य घनश्याम अधिकारीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
संघका उपाध्यक्ष गीता कुँवरले स्वागत गरेको कार्यक्रमको सञ्चालन झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले गरेका थिए । वार्षिक साधारणसभासँगै संघको सातौं अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएको छ ।संघको जिल्ला अध्यक्षमा पुनः गणेश ढकाल आउने संभावना रहेको छ । सर्वसम्मतबाट नयाँ कार्यसमिति चयन गर्ने पहल भइरहेको एक पदाधिकारीले बताएका छन् ।