भद्रपुर, माघ १ । नेकपाको माधव—प्रचण्ड समूहको भद्रपुर भेलाले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन संवैधानिक कु भएको ठहर गर्दै प्रतिवाद गर्न ५०१ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।

नेकपा भद्रपुर नगर सहइन्चार्ज नरेश सञ्जेलको अध्यक्षता तथा केन्द्रीय सदस्य धर्मशीला चापागाईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री ओलीको स्वेच्छाचारी कदमको सशक्त प्रतिवाद गर्न संघर्ष समिति गठन गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै चापागाईले प्रधानमन्त्री ओलीको कदम गणतन्त्र , संघीयता , धर्म निरपेक्षता र समावेशी सिद्धान्तविपरित रहेको भन्दै संघर्ष नै एक मात्र विकल्प रहेको दाबी गरिन् ।
सो बिस्तारित बैठकले प्रधानमन्त्री ओलीको कदमको सशक्त प्रतिकार गर्न भद्रपुर नगरस्तरमा श्रीमन नारायण पौडेल संयोजक तथा मेदनी शिवाकोटी सहसंयोजक र शिवकुमार राजभण्डारी सचिव , मुना खवास सहसचिव रहने गरी ५०१ सदस्यीय संघर्ष समिति गठन गरेको हो ।
नगर अध्यक्ष शिवकुमार राजभण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत श्रीमन नारायण पौडेलले राखेका थिए । बैठकमा पार्टीका प्रदेश कमिटी सदस्य तथा पूर्व सांसद पुष्पराज पोखरेल र पार्टीका झापा जिल्ला संघर्ष समितिका सचिव मणिकुमार साङ्पाङ ( बिजय) समेतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्