बुधबारे ,माघ २ । झापाको बुद्धशान्ति गाउँपालिका ४ स्थित मेची राजमार्गमा हिजो साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुद्धशान्तिको बर्ने चिया बगान क्षेत्रमा इलामबाट झापा झर्दै गरेको मे. ७ प ९४६२ नम्बरको मोटरसाइकलमा सवार अर्जुनधारा ७ का २१ वर्षीय कविराज भनिने कमल चौधरी र २० वर्षीया हेमा महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।साथीसँग इलामको कन्याम घुमेर फर्कने क्रममा इलाका प्रहरी कार्यालय बुधबारेबाट २ किलोमिटर उत्तरमा उनीहरु सवार मोटरसाइकल टाटा सुमोसँग ठक्कर खाएको थियो । इलामबाटै झापा झर्दै गरेको मे. १ ज २०९३ नम्बरको सुमोले घुमाउरो बाटोमा मोड्ने क्रममा पछाडिबाट आइरहेको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि झापाको बिएन्डसी हस्पिटल ल्याइएको थियो । अस्पताल ल्याउनसाथ कविराजको मृत्यु भएको थियो भने पछाडि सवार हेमालाई उपचार गराउँदा गराउँदै मृत्यु भएको प्रहरीले जनाएको छ ।अर्जुनधारा ७ स्थित मिलडाँडा दक्षिण निवासी दुवै जनाको निधनले सिंगो गाउँ नै शोकमग्न बनेको छ । कविराज परिवारका एक्लो छोरा तथा हेमा परिवारकी कान्छी छोरी थिइन् । मृतक दुवैको लाश पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्