धाइजन , माघ ३ । मेचीनगर–११ स्थित भानु आधारभूत विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई शुक्रबार न्यानो कपडा वितरण गरिएको छ ।

सो विद्यालयको कक्षा १ देखि ३ सम्म अध्ययन गर्दै आएका १ सय ४ जना विद्यार्थीहरुलाई प्रतिव्यक्ति एक जोडी ट्रयाक सुट वितरण गरिएको हो ।
जाडोकै कारण विद्यालय आउजाउ गर्न विद्यार्थीले समस्या भोग्नु नपरोस् भन्ने उद्देश्यले न्यानो कपडा प्रदान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु चौधरीले बताए ।
उनका अनुसार मेचीनगर ११ नम्बर वडा कार्यालयले छुट्याएको बजेटबाट खरिद गरिएको उक्त ट्रयाक सुटलाई विद्यालय पोशाकका रुपमा प्रयोगमा ल्याइनेछ ।

‘धेरैजसो विद्यार्थी आर्थिक रुपमा विपन्न परिवारका छन्’ अध्यक्ष चौधरीले भने–‘त्यसैले, उनीहरुलाई नियमित विद्यालय आउन जाडोले नछेकोस् भन्नका लागि यस्तो सोच बनाएका हौं ।’
त्यसक्रममा व्यवस्थापन समिति अध्यक्ष चौधरी, प्रधानाध्यापक विष्णुमाया राउत, मेचीनगर–११ नम्बर वडा सदस्य यशोदा डाँगीलगायत शिक्षक तथा शिक्षिकाहरुले कपडा वितरण गरेका थिए ।
२०२५ सालमा स्थापना भएको सो विद्यालयमा आदिवासी, जनजाति तथा सीमान्तकृत समुदायका विद्यार्थीको बाहुल्यता रहेको छ ।
मेचीनगर–९, १० र ११ नम्बर वडाका विद्यार्थीहरु अध्ययन गर्दै आएको उक्त विद्यालयमा हाल बाल कक्षाबाहेक ८ कक्षासम्म २ सय ४० जना विद्यार्थी पढ्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्