झापा , माघ ३ । सरकारको असंबैधानिक कदमविरुद्ध नेपाली कांग्रेसले शनिबार देशभरका पालिकाहरुमा पालिकास्तरीय विरोध कार्यक्रम गरेको छ ।

सो क्रममा कांग्रेस दमक नगर समितिले सांकेतिक रेलसहितको विरोध प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट शुरु भएको सांकेतिक रेलसहितको विरोध प्रदर्शनमा नगरस्थित नेता कार्यकर्ता, भातृ संगठन र शुभेच्छुकहरु उल्लेख्य संख्यामा सहभागी थिए ।
प्रदर्शनपछि दमक चोकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै वक्ताहरुले केपी ओली नेतृत्वको वर्तमान कम्युनिष्ट सरकार एकपछि अर्को असंबैधानिक कदम चाल्न उद्धत रहेकाले जनताका अधिकार कुण्ठित हुनुका साथै लोकतान्त्रिक व्यवस्था खतरामा पर्दै गएको टिप्पणी गरे । सभामा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दलका पूर्वउपाध्यक्ष मेदनीप्रसाद सिटौलाले ओली नेतृत्वको वर्तमान सरकारले संविधानमा नभएको अधिकार प्रयोग गरेर व्यवस्थापिका संसदको असमयमै अवसान गराएको जिकिर गरे ।

कांग्रेस झापाका पूर्वसभापति पुर्णानन्द शर्माको प्रमुख आतिथ्यमा भएको सभामा कांग्रेस विधि र नीतिमा अडिग रहेको नेता शर्माले उल्लेख गरे । सो अवसरमा कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी, महाधिवेशन प्रतिनिधि रेगिना भट्टराई, नगर सभापति रोशन विष्टलगायतले पनि धारणा राखेका थिए । सो विरोध कार्यक्रम पार्टीका नगर सचिव प्रकाश प्रसाईँले सञ्चालन गरेका थिए । त्यस्तै काँग्रेस केन्द्रीय समितिले तय गरेको कार्यक्रमअन्तर्गत झापा गाउँ समितिले पनि पालिकास्तरीय विरोध सभा सम्पन्न गरेको छ ।
नेपाली काँग्रेस झापा गाउँ समितिको आयोजनमा गाउँ सभापति मोतीलाल गणेशको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पूर्व सामान्य तथा प्रशासन मन्त्री केशवकुमार वुढाथोकी रहेका थिए । वुढाथोकीले नेपाली काँग्रेसकै नेतृत्वमा वनाएको संविधानको संरक्षण गर्ने प्रमुख दायित्व पनि काँग्रेसकै काँधमा रहको भन्दै संविधानविपरित विघटन भएको संसद पुनःस्थापित गर्ने काँग्रेसको मुख्य लक्ष्य रहको वताए ।

क्षेत्र नं ४ का महिला सभापति अन्जु थपलियाले स्वागत मन्तव्य गरेको कार्यक्रममा जिल्ला पूर्व जिल्ला उपसभापति देउमान थेवे , जिल्ला सदस्य जगन्नाथ राजवंशी, क्षेत्रीय सभापति जयनारायण शाह , महाधिवेशन प्रतिनिधि उत्तम सुवेदी , सुन्दरलाल गणेश , अनिता केसी , सुन्दर बेस्रा, ताहिर मुल्वी , सकिचन ठाकुर, राजकुमार यादवलगायतले आ–आप्mना धारणा राखेका थिए भने कार्यक्रमको संचालन क्षेत्रीय सचिव शिव कँडेलले गरेका थिए । विरोध सभामा हजारौंको सहभागिता रहेको थियो । त्यस्तै बाह्रदशीमा कांगे्रसले सिटी जुलुस निकालेको थियो ।
कांग्रेसले शनिबार सबै स्थानीय तहहरुमा विरोध प्रदर्शन गरेको हो । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको कांग्रेसले पूर्वनिर्धारित कार्यक्रमअनुसार ७ सय ५३ वटै पालिकामा प्रदर्शन गरेको जनाएको छ ।

गएको पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ वटा पालिका र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवम् सभाको आयोजना गर्ने निर्णय गरेको थियो ।
कांग्रेसले पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा र पुस १३ गते निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्