बिर्तामोड , माघ ४ । कृषि उत्पादन र व्यापारमूलक कार्य गर्ने उद्धेश्यले स्थापित राष्ट्रिय खाद्य बैंक लिमिटेडले आफ्नो योजनाबारे कृषकहरुसँग छलफल गर्न थालेको छ ।

यसक्रममा बैंकले बिर्तामोड नगरपालिकाका कृषकहरुसँग साक्षात्कार गरी आफ्नो उद्धेश्य र गर्न लागेको कामबारे जानकारी दिएको छ । बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले बैंकको काम, कर्तव्य र आबश्यकताका बारेमा प्रकाश पार्दै नेपालको आवश्यकता ठानेर राष्ट्रिय खाद्य बैंक स्थापना गरिएको बताए । गत असोजमा सो बैंकको स्थापना गरिएको हो । करिव सय जनाले दुई
अर्ब रकमबाट बैंक स्थापना गरेका हुन् । कार्यकारी अध्यक्ष उप्रेतीले कृषिको बारेमा अध्ययन अनुसन्धान गरी कुन ठाउँमा के फल्छ त्यही वाली लगाएर उत्पादन बृद्धि गर्ने उद्धेश्य रहेको बताए । उनले स्थानीय वीउविजनलाई संरक्षण गर्दै अर्गानिक खानेकुराको उत्पादनका लागि सो बैंक आएको प्रष्ट पारे । ‘ विषादी र रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै जानेछौ ’उनले भने ,‘ दुई–चार वर्षमा शतप्रतिशत अर्गानिक खाद्यान्न वाली उत्पादन गर्छौं ।’

नेपालले प्रत्येक वर्ष ५६ अर्बबराबरको चामल आयात गरिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले परनिर्भरतालाई कम गरी आत्मनिर्भर बनाउने आफ्नो अभियान रहेको जानकारी दिए । बैंकले झापामा जग्गा लिजमा लिएर ब्लकमा खेती गर्ने योजना बनाएको छ । कम्तीमा २५ देखि १ हजार विगाहसम्म जग्गा लिजमा लिएर खेती गर्ने बैंकको योजना छ । ‘एउटा ब्लकमा एकनासको बाली लगाउने योजना छ ’ कार्यकारी अध्यक्ष उप्रेतीले भने । शुरुमा धान मकैजस्ता खाद्यान्न वाली लगाउने योजना बनाएको बैंकले त्यसपछि गेडागुडी , फलफूल र माछामासुको उत्पादन थाल्ने बैंकका प्रदेश संयोजक राजुप्रसाद खतिवडाले बताए । उनले झापामा यसै वर्षदेखि एक–दुईवटा ब्लकमा खेती थाल्ने जनाए । बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटीले विषादीमुक्त र प्रदुषणमुक्त नगर बनाउने आफ्नो परिकल्पनालाई साकार पार्न सो बैंकबाट मद्धत पुग्ने बिश्वास व्यक्त गरे । थोरै जग्गाबाट धेरै आम्दानी गरी किसानलाई समृद्धितर्फ डोर्याउन बैंकले भूमिका खेल्नु पर्नेमा उनको जोड थियो ।

बैंकका संचालक इश्वर लुइटेलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल , व्यवसायी टंक विश्वकर्मा , नगर एकीकृत मूल कृषक समूहका अध्यक्ष खगेन्द्र शिवाकोटीलगायतले आ–आफ्ना धारणा राखेका थिए । नगरका १० वटै वडाका कृषक प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमको संचालन नर्वदा ढकालले गरेकी थिइन् । काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको खाद्य बैंकले ७ प्रदेश र ७७ वटै जिल्लामा कार्यालय खोल्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्