बाहुण्डाँगी , माघ ४ । मेचीनगर–२ स्थित बौद्धमोड कृषि सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

सभाको उद्घाटन जिल्ला सहकारी संघका सदस्य दुर्गाप्रसाद सापकोटाले गरेका थिए । त्यसक्रममा प्रमुख अतिथि सापकोटाले कृषिसँग आबद्ध सहकारीले बचत तथा ऋणको कारोवारसँगै कृषिजन्य उत्पादनतर्फ अग्रसर बन्नुपर्नेमा जोड दिए ।
सभाको खुल्लासत्रमा विशिष्ट अतिथि मेचीनगर २ का वडा अध्यक्ष तिलक न्यौपाने, सिद्धिखोला जल उपभोक्ता समिति अध्यक्ष निलकण्ठ तिवारी, प्रेरणा कृषि सहकारी संस्थाका अध्यक्ष बद्री निरौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सभाको अवसर पारेर संस्थाले नियमित बचतकर्तातर्फ रेखा गिरी र पूर्णप्रसाद खतिवडा, असल ऋणीतर्फ सावित्रादेवी दाहाल र टीकाराम सार्की तथा ज्येष्ठ नागरिकतर्फ बुद्धीप्रसाद खनाल र गुडीमाया राईलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
सभाको खुल्लासत्रमा संस्थाका अध्यक्ष नरेन्द्र काफ्लेद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक पोषककुमार दर्जीद्धारा प्रस्तुत लेखा प्रतिवेदन बन्दसत्रबाट सर्वसम्मत रुपमा पारित भएको जनाइएको छ ।
संस्थाका अध्यक्ष नरेन्द्र काफ्लेको अध्यक्षतामा भएको सभाको उद्घाटन सत्रमा स्वागत सदस्य गौरा तामाङ र सञ्चालन व्यवस्थापक हेमन्त मोक्तानले गरेका थिए ।