दमक, माघ ५ । आज बिहान दमकमा विरामी बोकेको एम्बुलेन्स र अटो एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००३ ह ६२४ नं कोे अटो रिक्सा एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको हो । एम्बुलेन्सभन्दा पछाडी रहेको को.११ प ९५२५ न. को मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को.२५प १९३३ न. को स्कुटी समेत दुर्घटनामा परेको थियो ।
बिहान करिब पौने १० बजे भएको सो दुर्घटनामा अटो रिक्साका चालक मोरङ,उर्लाबारी नगरपालिका वडा नम्बर ४ का ५० बर्षिय विरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाईते भएका छन् । घाइते हुनेहरुमा अटोमा सवार सुनसरी इनरुवा ७ बस्ने २४ वर्षिय सौजन मगर ,दमक ४ बस्ने २० वर्षिय राजन सिलवाल र मोटरसाइकल चालक दमक २ बस्ने २८ वर्षिय रमेश पोखरेल रहेका छन् ।