झापा , माघ ५ । हिजो साँझ लागु औषध ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् ।

साँझ ५ः४५ बजे दमक नगरपालिका वडा नं. १ बुद्ध टोलमा सोही ठाउँका ३२ वर्षिय देवेन्द्र राईले ब्राउनसुगर बिक्री गरिरहेको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको कोठाभित्र चेकजाँच गर्दा दुई ग्राम ब्राउनसुगर, नगद चार हजार र एउटा मोवाईल सेट बरामद गरेको थियो ।

राईलाई नियन्त्रणमा लिएर सोही टोलीले गौरादह १ स्थित पेट्रेल पम्प अगाडी सीता निरौलाको घरनजिकै गौरादह ३ बस्ने २७ वर्षिय लक्ष्मण दास र १९ वर्षिय राम शाहलाई चेकजाँच गर्ने क्रममा दासको साथबाट २३ ग्राम २०० मिलिग्राम ब्राउनसुगर बरामद गरी मे ७ प ९०८१ नं. को मोटरसाईकलसहित दुबै जनालाई ईलाका प्रहरी कार्यालय दमकमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै लागु औषध(गाँजा)मुद्दाका एक फरार प्रतिवादी पक्राउ परी जेल चलान भएका छन् । जेल जानेमा गौरीगञ्ज ६ का ३९ वर्षिय जयनारायण राजवंशी रहेका छन् । झापा जिल्ला अदालत भद्रपुरको २०६४ मंसिर ३ गतेको फैसला अनुसार लागु औषध(गाँजा)मुद्दाका प्रतिवादी राजवंशीलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । घटना भएको मितिबाटै फरार रहेका राजवंशीलाई खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले आफ्नै घरबाट पक्राउ गरेको थियो । उनलाई कैद भुक्तानका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।