पाडाजुंगी , माघ ५ । कमल गाउँपालिका–५ स्थित गेटवानमा बस्दै आएका पक्षघातबाट पीडित एक अशक्त परिवारलाई लखनपुरको साझा कपडा बैंकले राहत सामग्री दिएको छ ।

पक्षघातबाट थलिएका अतिविपन्न ईश्वरसिंह सहनीको परिवारलाई कपडा बैंकले लत्ताकपडा तथा खाद्यान्न राहत सामग्री दिएको हो ।

कपडा बैंकका अध्यक्ष ज्ञानु खरेलसहितको टोली सोमबार सहनीको घरै पुगेर राहत सामग्रीहरु हस्तान्तरण गरेको संस्थाका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।
अध्यक्ष खरेलका अनुसार पीडित परिवारलाई जाडोका लागि एक थान सिरक, एक थान डस्ना, एक थान सिरानी, १ बोरा चामल, आलु, दाल, तेललगायत खाद्यान्न सामग्रीहरु दिइएको हो । राहत सामग्री वितरण कार्यक्रममा संस्थाका उपाध्यक्ष बहादुर ताजपुरिया, सहसचिव सुमन ओलीलगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

दुई वर्षअघि कमल–६ लखनपुरका युवाहरुले सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले सो कपडा बैंक स्थापना गरेका हुन् । उक्त संस्थाले आफ्नै स्रोत जुटाएर विपन्नलाई लत्ताकपडा, निःशुल्क स्वास्थ्य शिविरलगायतका सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको पूर्व अध्यक्षसमेत रहेका कपडा बैंकका सल्लाहकार संयोजक कृष्णप्रसाद भण्डारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्