भद्रपुर , माघ ५ । भद्रपुर–८ निवासी सामाजिक कार्यमा सक्रिय इञ्जिनियर दम्पत्ति करुणालाल श्रेष्ठ र लक्ष्मी बाबा श्रेष्ठले सोमबार विद्यार्थीहरुलाई जाडोका लागि आवश्यक न्यानो कपडा प्रदान गरेका छन् ।

श्रेष्ठ दम्पत्तिले भद्रपुर–८ स्थित भानु प्राथमिक विद्यालयमा अध्ययनरत् बालबालिकाहरुलाई न्यानो कपडासहित विद्यालय पोशाक, जुत्ता र मोजा प्रदान गरेका हुन् ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा श्रेष्ठ दम्पत्तिले सो विद्यालयको कक्षा १ देखि ५ सम्म पढ्ने ४२ जना छात्रछात्राहरुलाई ती सामग्री प्रदान गरेको बताइएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका उनीहरुले सामाजिक सुरक्षा भत्तावापत प्राप्त भएको रकम मध्येबाट ५० हजार रुपैयाँ मूल्य बराबरका ट्रयाक सुटसहित जुत्ता, मोजा प्रदान गरेका थिए ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगदीश जोशीको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन प्रधानाध्यापक चन्द्रकला कार्कीले गरेकी थिइन् ।

सो कार्यक्रमका सभापति जोशी, प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथि नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, प्रधानाध्यापक कार्की, भद्रपुर नगर वडा नम्बर ८ का अध्यक्ष गौरव सुब्बा, वडा सदस्य भगवती बस्नेत, कार्यपालिका सदस्य मुना खवासलगायतले बोलेका थिए ।
कार्यक्रममा स्वागत विद्यालयमा गठित बाल क्लबकी अध्यक्ष पिस्किला हेमरमले गरेकी थिइन् । सोही अवसरमा समाजसेवी धनप्रसाद शिवाकोटीले उक्त विद्यालयको कक्षा ५ मा अध्ययनरत् छात्रा रवी खातुनको अभिभावकत्व ग्रहण गर्दै आगामी एकवर्षको सम्पूर्ण पढाई खर्च आफूले व्यहोर्ने घोषणा गरेका छन् ।
कक्षा ५ सम्म पढाई हुने सो विद्यालयमा हाल ६ जना शिक्षक तथा शिक्षिकाले ४२ जना विद्यार्थीलाई पढाउँदै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्