झापा , माघ ५ । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका झापाका ३ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।

हस्ताक्षर फिर्ता लिनेहरुमा प्रदेशसभा सांसद जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली रहेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको कदमपछि असंवैधानिक भन्दै प्रदेशको सामाजिक विकास राज्यमन्त्रीबाट गजमेरले राजिनामा दिएकी थिइन् भने मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर पनि गरेकी थिइन् । तीन सांसदहरुले प्रदेशसभा सचिवालयमा पत्र लेख्दै प्रदेश सरकारका विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका आफूहरु नेकपाकै रहेको र नेकपाकै नेतृत्वको सरकारका विरुद्धमा अविश्वास प्रस्ताव दर्ता गर्नु उपर्युक्त नहुने ठानेर हस्ताक्षर फिर्ता लिएको जानकारी दिएका हुन् ।
प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध नेकपाकै प्रचण्ड–माधव समूहका ३७ जना सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये यसअघि कला घले र बसन्तीदेवी यादवले हस्ताक्षर फिर्ता लिएको घोषणा गरेका थिए ।
थप ३ जनाले हस्ताक्षर फिर्ता लिएपछि अविश्वास प्रस्तावको निर्णयमा कायम रहने सांसद संख्या ३२ जना भएको छ । ९३ सदस्यीय प्रदेशसभामा नेकपाको ६७ सिट रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्