भद्रपुर, माघ ६ । भद्रपुर ५ स्थित मेची पुलपारि प्रहरी बिटको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

सीमा अतिक्रमण र तस्करी गतिविधि रोक्न निर्माण गरिएको प्रहरी बिटको भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गर्दै भवन हस्तान्तरण गरेका हुन् । मेची पुलपारि प्रहरी चेकपोष्ट निर्माण उपभोक्ता समितिले प्रहरी बिट निर्माणस्थलमै आयोजना गरिएको कार्यक्रममा निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोज श्रेष्ठले नगर प्रमुख श्रेष्ठलाई भवन जिम्मा लगाएका थिए । त्यसपछि श्रेष्ठले जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सानुराम भट्टराईलाई भवनको साँचो जिम्मा दिदैं भवन हस्तान्तरण गरेका हुन् ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख चन्द्रा श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक सानुराम भट्टराई, भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेल, ५ का वडाध्यक्ष बन्धु कार्कीलगायतले मेची पुलपारि प्रहरी बिट निर्माण हुनु सकारात्मक भएको बताउँदै राजश्व छली नियन्त्रणदेखि भद्रपुरको शान्ति सुरक्षामा समेत सकारात्मक प्रभाव पर्ने बताए ।

कार्यक्रमको सञ्चालन निर्माण उपभोक्ता समितिका सचिव दीपक अधिकारीले गरेका थिए ।



