दमक, माघ ६ ।नेकपाको प्रचण्ड– नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीले संसद विघटन गर्ने असंबैधानिक कदम नसच्चिए मुलुक अझै दुर्घटनामा जाने बताएकी छन् ।

प्रधानमन्त्रीको गृहनगर दमकमा आज आफूपक्षीय अगुवा कार्यकर्ता भेलामा बोल्दै नेतृ झाँक्रीले नेपाली जनताले बलिदान दिएर ल्याएका उपलब्धिहरु प्रधानमन्त्री केपी ओलीका कारण गुम्ने खतरा रहेको बताएकी हुन् ।
नेकपा दमक नगर समितिको पार्टी कार्यालय दमक ८ बालुवाटारमा भएको कार्यक्रममा उनले लोकतन्त्र, गणतन्त्रसहितका परिवर्तन नै गुम्ने खतरा रहेकोले आन्दोलनमा लाग्नुको विकल्प नभएको धारणा राखिन् । प्रधानमन्त्रीले असंबैधानिक रुपमा संसद बिघटन गरेपछि नेपालको राजनैतिक परिवर्तन गुम्ने र परिवर्तनको रक्षा गर्ने भन्ने दुई बाटोमा पुगेको भन्दै नेतृ झाँक्रीले राजनीतिलाई सहि बाटोमा ल्याउन सडकबाट दबाब सिर्जना गर्न अबैलाई आग्रहसमेत गरिन् । परिस्थिति नियन्त्रण बाहिर जान लागेको भन्दै उनले निरंकुश राजसंस्थालाई घुँडा टेकाएका नेपाली जनताले ओलीको निरंकुशतालाई पनि पराजित गर्ने विश्वास व्यक्त गरिन् ।
हिजो ओलीले चुच्चे रेल, पानी जहाज र हावामा बिजुलीका हावादारी कुरा गर्दा ताली बजाएकै कारण आजको यो दुर्गती भोग्नु परेको भन्दै उनले कुनै योजना र अनुसन्धान बिना बोलिएका हावादारी कुरालाई हो भनिदिँदा र थप्पडी बजाईदिँदा ओलीको महत्वाकांक्षा बढेको टिप्पणी गरिन् ।।
नेकपा दमक नगर सचिव तिर्थराज बस्नेत शंकरको अध्यक्षतामा भएको कार्यक्रमले नगरस्तरीय संघर्ष समिति गठन गर्ने जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्