झापा , माघ ६ । बाल विवाह र कम उमेरमा हुने विवाहलाई नियन्त्रण गर्ने उद्देश्यले झापाका तीनवटा स्थानीय तहमा सञ्चालित सचेतनामूलक कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

‘बाल विवाह तथा कम उमेरमा हुने विवाह न्यूनीकरण’ परियोजना अन्तर्गत सञ्चालन भइरहेका कार्यक्रमहरुको प्रभाव सकारात्मक देखिएको हो ।
मेचीनगर–६ स्थित महिला अधिकारवादी संस्था महिला जनचेतना केन्द्रले जिल्लाका बाह्रदशी र कचनकवल गाउँपालिका तथा मेचीनगर नगरपालिकामा सो परियोजना सञ्चालन गर्दै आएको छ ।
‘अभियानलाई तीव्ररुपमा अघि बढाएका छौं, बाल विवाह हुनुको मूल कारण खोज्दैछौं’ केन्द्रका कार्यक्रम संयोजक मणिकुमार लिम्बूले भने–‘जड कुरो बुझ्दैछौं, प्रारम्भिक नतिजा सकारात्मक आएको छ ।’
उनका अनुसार हालसम्म भए÷गरेका कार्यक्रम र त्यसको प्रतिफलबारे आन्तरिक रुपमा सुक्ष्म ढंगले निगरानी भइरहेको र प्रभावकारिताबारे चाँडै सर्वेक्षण कार्य सुरु गरिनेछ ।
केन्द्रले सो अभियानका दौरानमा एउटा समूहमा २० देखि २५ जना महिला तथा किशोरीहरुलाई सहभागी गराई बाह्रदशीमा ६ र कचनकवलमा ५ वटा समूह गठन गरी प्रशिक्षणपछि परिचालन गरेको छ ।

त्यस्तै, वडा तथा पालिकास्तरीय उक्त समूहको प्रतिनिधित्व हुने गरी जिल्लास्तरीय सञ्जाल निर्माण गरिएको र हाल स्थानीय तथा जिल्लास्तरीय सञ्जालका पदाधिकारी तथा सदस्यहरुले सक्रियतापूर्वक जिम्मेवारी वहन गर्दै आएका छन् ।
सन् २०२५ सम्ममा बाल विवाहलाई शुन्यको स्थितिमा ल्याउने योजना एक नम्बर प्रदेश सरकारले अघि सारेको छ । प्रदेश सरकारले लिएको यो अठोट प्रशंसनीय रहेको भन्दै केन्द्रकी कार्यकारी प्रमुख राधा प्रधान कार्की भन्छिन्–‘सरकारी लक्ष्यलाई सघाउ पुर्याउने हेतुले हामी कार्यसम्पादनमा जुटेका छौं ।’
सरोकारवाला निकायका प्रतिनिधिहरुलाई सहभागी गराई परियोजनाबारे मेचीनगरमा नगरस्तरीय अन्तक्र्रिया गरेको केन्द्रले आफ्नो कार्यक्षेत्रमा रहेका विद्यालयमा किशोर–किशोरीहरुको समूह गठन गरेको छ ।
‘यो परियोजनाको मर्म अनुसार लक्षित वर्ग र समुदायको पहिचान गरी कार्यक्षेत्र छनौट गरेका हौं’ महिला अधिकारकर्मी समेत रहेकी कार्कीले भनिन्–‘समाजमा सचेतना शिक्षा प्रवाह गर्ने र सहभागीको उपस्थिति उत्साहजनक पाएका छौं ।’
केन्द्रका अनुसार परियोजनाका कार्यलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न ५ वर्षे रणनीतिक योजना निर्माण गरी कचनकवल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
सन् २०२० बाट सञ्चालनमा आएको सो परियोजनाको अवधि सन् २०२२ सम्मका लागि निर्धारण गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्